तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा समेटिएको संविधान संशोधन विधेयक दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ ।

सभामुख अग्नि सापकोटाले नेपालको संविधान संशोधन विधेयक–२०७७ दुई तिहाइभन्दा बढी मतले पारित भएको घोषणा गर्नुभयो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्नु भएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा संविधानको अनुसूचीमा समावेश गर्ने सम्बन्धी नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७ दुई तिहाइभन्दा बढी मतले पारित गरेको हो ।

छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. तुम्वाहाङफेले विधेयकमाथि भएको सकारात्मक छलफलले नेपाली जनताको सार्वभौम अधिकारलाई अझै माथि उठाउने र नेपालको अखण्डता र राष्ट्रिय एकताको लागि संसद् सधैँ एकताबद्ध छ भन्ने सन्देश दिएको बताउनुभयो ।

बैठकमा प्रक्रिया अनुसार सांसदहरूबिच मत विभाजन गरी संविधान संशोधन विधेयक पारित गरिएको हो ।

बैठकमा उपस्थित सबै सांसदहरुले नेपालको संविधानको अनुसूची तीनमा रहेको नेपालको निहानछाप भित्रको नेपालको नक्सा परिवर्तन गर्ने नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ को पक्षमा मतदान गर्नु भएको थियो ।

उक्त विधेयकको हुन्छ भन्ने पक्षमा २५८ मत परेको थियो भने विपक्ष र मत दिन्न भन्ने पक्षमा शून्य मत परेको थिएन ।

बैठकमा उपस्थित २५८ सांसदहरू उपस्थित हुनुहुन्थ्यो ।

विधेयक पारित गर्नु अघि विधेयक माथिको छलफलमा भाग लिनुहुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संविधान संशोधनबाट राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फर्काउने महत्त्वपूर्ण अवस्थामा आइपुगेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय समझदारी र सहमतिबाट राष्ट्रलाई गति दिने परम्पराको विकास हुँदै आएको भन्दै नेपालको भूमि फिर्ता गर्ने सन्दर्भमा संविधान संशोधन जस्तो संवेदनशील विषयलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेर राष्ट्रिय र ऐतिहासिक मुद्दामा नेपालीहरू सधैँ एक ठाउँमा हुन्छौ भन्ने सन्देश फेरी एक पटक विश्वलाई दिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संवेदनशील राष्ट्रिय महत्त्वको विषयलाई राष्ट्रिय समझदारी गरेर संविधान संशोधन मार्फत निशान छापमा रहेको नेपालको नक्सा सच्याउन गरेको पहलका लागि नेपाल सरकारलाई धन्यवाद समेत दिनुभयो ।

अध्यक्ष प्रचण्डले गुमेको भूमि फिर्ता लिने दाबी गर्ने र भारतसँग राजनीतिक र कूटनीतिक रूपमा छलफल गरेर विवाद संधैका लागि समाधान गर्ने लक्ष्यका साथ अगाडी बढेको पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विवादित भूमिमा भारतले सडक निर्माण गरेर उद्घाटन समेत गरेपछि नेपालीहरूलाई एकताबद्ध हुन र गुमेको भूमि फिर्ता लिन सबै नेपाली एक भएर समस्या समाधान गर्न थप बल पुगेको बताउनुभयो ।

उहाँले भारतसँग नेपालले मित्रता र असल छिमेकीको भूमिका निर्वाह गर्न चाहेको र नेपाललाई समृद्धिको बाटोमा लान चाहेको भन्दै यो संविधान संशोधनपछि भारतसँगको दुरी बढाउने नभई समस्यालाई तथ्य प्रमाणसहित समस्याको समाधान गर्न चाहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दामा एकताको निम्ति सबै एक हुने गरेको भन्दै कोरोना विरुद्धको लडाइमा समेत सबैलाई एक भएर लाग्न आग्रह समेत गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको सार्वभौमसत्ता राष्ट्रिय एकता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम हुनु सकारात्मक भएको बताउनुभयो ।
सभापति देउवाले सरकारले ल्याएको संविधान संशोधन विधेयक राष्ट्रिय हितमा भएकाले संशोधन प्रस्तावलाई आफ्नो दलले पूर्ण रूपमा समर्थन गरेको बताउनुभयो ।

सभापति देउवाले सुगौली सन्धिअनुसार काली नदीको पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट भएकाले लिम्पियाधुरासमेत समेटिएको नक्सा छिटो पारित गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले संविधानप्रति आफ्नो दलको असन्तुष्टिको बाबजुद पनि नेपालको नक्सा परिवर्तन गर्नका लागि आएको संविधान संशोधन प्रस्तावमा पूर्ण समर्थन रहेको बताउनुभयो ।

हिमाल,पहाड र तराईका सम्पूर्ण जनता आफ्नो देशप्रति एक छन् भन्ने सन्देश यस बैठकले देखाउनु पर्ने भन्दै नेता महतोले लिम्पियाधुरा, लिपुलेक कालापानी नेपालको हो भन्ने नक्सामा देखाउन संविधान संशोधनमा समर्थन गरेको स्पष्ट पार्नुभयो ।

मधेसी जनता राष्ट्रिय एकताका लागि सधैँ लागि रहने राष्ट्रियताको सवालमा सधैँ एक हुने भन्दै मधेसी जनता र संविधान प्रति असन्तुष्ट सबै पक्षको माग समेत सम्बोधन गरेर सबैले अपनत्व ग्रहण गर्न सक्ने गरी अगाडी बढ्नु पर्ने बताउनुभयो ।

समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले कसैलाई चोट पार्ने र राष्ट्रियतामा प्रश्न उठ्ने काम संसद्बाट हुन नहुने भन्दै राष्ट्रियताको सवालमा एकै ठाउँमा रहेको । देशभक्ति र राष्ट्रवादमा आफ्नो पार्टीमा बलियो रहेको भन्दै समर्थन गर्ने बताउनुभयो ।

उहाँले यसअघि काली नदी लिम्पियाधुरा समेटिएको नेपालको नक्सा प्रचलनबाट कसरी हट्यो भन्ने विषय खोजी हुनु पर्ने भन्दै यसलाई संसद्बाट पास गरेर छिटो समाधान गर्नु पर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले संविधान संशोधन राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डताको लागि भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको संविधान संशोधन प्रस्तावमा नि:शर्त समर्थन रहेको बताउनुभयो ।

उहाँले गुमेको भूमि नेपालको नक्सामा समेट्ने ऐतिहासिक र महत्त्वपूर्ण कार्य गर्ने सबै नेपालीको खुसीको दिन भएको बताउँदै भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगडासम्म छोड्नु पर्ने भएकाले उसले त्यसो नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संविधानमा नक्सा परिवर्तन गरी नेपालको अतिक्रमित भूमि भूमि फिर्ता गर्ने गरी आएको संविधान संशोधनको प्रस्तावको आफ्नो दलले समर्थन गर्ने बताउनुभयो ।

उहाँले कूटनीतिक पहल वार्तामार्फत जमिन फिर्ताको पहल गर्ने र त्यो हुन नसके मुद्दा अन्तराष्ट्रियकरण गरेर भए पनि अगाडी बढ्नु पर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अतिक्रमित भूमि लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सार्वजनिक गर्नु नेपालको राष्ट्रियता सार्वभौमिकता र अखण्डताको पक्षमा आएकाले यसलाई समर्थन गर्ने बताउनुभयो ।

उहाँले सुगौली सन्धिमा काली नदी पूर्वको भाग नेपालको हो भनेर स्पष्ट भनिएको अवस्थामा अव भारतले सीमा क्षेत्रको विभिन्न भागमा मिचेको भूभाग समेटेर नक्सा ल्याउनु पर्ने समेत बताउनुभयो ।

छलफलमा भाग लिने सासंदहरुले संविधानको अनुसूची–३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सा महाकाली लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा आउनु सबै नेपालीको गर्वको विषय भएको बताउनुभयो ।

उहाँहरूले सीमा सम्बन्धी समस्यालाई सधैँका लागि समाधान गर्ने गरी वार्ता र कूटनैतिक पहल मार्फत सरकार अगाडी बढ्नु पर्ने बताउनुभयो ।

अतिक्रमित नेपाली भूमि व्यवहारिक रूपमा प्राप्त गर्नु पर्ने बताउँदै सांसदहरुले अन्तर्राष्ट्रिय कानुनबाट नेपालको सीमा नियमन गर्नु पर्नेमा समेत जोड दिनुभयो ।

बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले नियमअनुसार संशोधन सम्बन्धी सर्त पुरा नभएकाले संविधान संशोधन विधेयकमामाथि परेको संशोधन प्रस्ताव अस्वीकृत गरिएको जानकारी गराउनु भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button