तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको दुर्लुङमा पहिरो : नौ जना पुरिए, तीन जनाको शव फेला, छ जना अझै बेपत्ता

पर्वत । पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङस्थित एक बस्तीमा पहिरोमा नौ जना पुरिएका छन् ।

शनिवार साँझ ८ः०० बजेतिर वर्षासँगै आएको पहिरोले दुर्लुङ गाउँस्थित ढकालवारिमा दुई घर बगाउँदा घरमा सुतिरहेका घरका सबै परिवार पहिरोमा पुरिएका छन् ।

वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार ३ जनाको शव फेला परेको भने ६ जना बेपत्ता भएका छन् ।

राती १ बजेसम्म खोजी गर्दा तुलबहादुर थापा, मीनकुमारी थापा र बिबिशा थापाको शव फेला परेको छ । घटनास्थलमा प्रहरीसहित स्थानीयले कुटो, कोदालो र गैँचीले खनेर तीन जनाको शव फेला पारे पनि अन्यको खोजी गर्न सम्भव नभएपछि आज बिहान एक्साभेटर लगाएर अन्यको खोजी गर्ने तयारी रहेको पाध्याले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक विनोद सुबेदीका अनुसार बेपत्ता हुनेहरूमा सम्राट् थापा,दिर्पा थापा,विवेक थापा ,कमला विक,जेनिस विक र प्रमिसा विक रहेका छन् । पहिरो परि गाईबस्तु समेत पुरिएका छन् ।

पहिरो वरिपरिका अन्य तीन घर समेत जोखिममा रहेका कारण सुरक्षित ठाउँमा सारिएको छ ।

सडकमा थुप्रिएको पानी जमिन मुनी पसेर त्यसैले पहिरोको रूपमा लिएको हुन सक्ने स्थानीयको अनुमान छ ।

घटनास्थल सदरमुकाम कुस्माबाट करिब १५ किलोमिटर उत्तरमा रहेको छ ।

पहाडी भूगोल रहेको दुर्लुङ नजिकै बोडिस्वाँरामा पनि गत वर्ष पहिरो जाँदा एक वृद्धको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button