तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट नेपाली श्रमिक भित्र्याउन राष्ट्र संघमा छलफल    

नेपाली श्रमिकको उद्धारका लागि । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संयुक्त राष्ट्र संघमा छलफल गरेको छ । एनआरएनएका उपाध्यक्ष डा बद्री केसीका अनुसार राष्ट्र संघअन्तर्गतको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन (आइओएम) सँग संघका अध्यक्ष पन्तसहितको टोलीले छलफल गरेको थियो ।

गत बुधवार भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनका प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्धारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिनुभएको थियो । आइओएम कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न इच्छुक रहेको एनआरएनले जनाएको छ ।

सहयोग 
एनआरएनएले विदेशमा अलपत्र नेपालीका लागि आर्थिक सहयोगको दायरालाई फराकिलो बनाएको छ । यस साता गर्भवती र बालबालिकाका लागि आर्थिक सहयोग वितरण गरिएको छ । एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईमा समस्यामा परेका नेपाली गर्भवती र बालबालिकाका लागि थप आर्थिक सहयोग वितरण गरेको हो ।
संघले कोभिड –१९ बाट पीडित गैरआवासीय नेपालीलाई तेस्रो चरणअन्तर्गत कुवेत र युएईमा ६–६ हजार डलर तथा फ्रान्स र डेनमार्कमा रहेका नेपालीका लागि दुई हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ ।

यसअघि संघले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, इटली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साइप्रसमा कोरोनाबाट प्रभावित नेपालीका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो । एनआरएनले हालसम्म विदेशमा कोभिड पीडित नेपालीका लागि रु ६६ लाख सहयोग गरिसकेको एनआरएन, कोभिड–१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

उद्धार    
एनआरएनएले बिहीबारसम्म विदेशमा अलपत्र पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् ।
अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ । अहिलेसम्म एनआरएन र विदेशस्थित नेपाली दूतावासको समन्वयमा म्यानमाबाट २६, खाडी मुलुक दुबईबाट १६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी ५११ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button