२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकियो

भुवनप्रसाद आचार्य २०७७ जेठ ३२ गते १३:२६

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणले विदेशमा रहेका नेपालीहरूको मृत्यु हुने क्रम रोकिएको छ ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार विभिन्न देशमा नेपालीहरूले ज्यान गुमाएका थिए तर यो साता भने कोरोना भाइरसको सङ्क्रमणले कुनै पनि नेपालीले ज्यान गुमाउन परेन ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमण दरमा शनिवार साँझसम्म उल्लेख्य रूपमा कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड, अस्ट्रेलिया, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरू कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरू कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरू कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । सङ्घका अनुसार कोरोना सङ्क्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।

सापकोटाका अनुसार नेपाल बाहेक विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीहरूको ज्यान गएको थियो ।

एनआरएनएले विदेशमा अलपत्र परेका नेपालीहरूको लागि आर्थिक सहयोगको दायरालाई फराकिलो बनाएको छ । यो साता गर्भवती महिला र बालबालिकाका लागि आर्थिक सहयोग वितरण गरिएको छ । एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार सङ्घले कुवेत र युएईका समस्यामा परेका नेपाली गर्भवती महिला र बालबालिकाहरूका लागि थप आर्थिक सहयोग वितरण गरेको हो ।

सङ्घले कोभिड १९ बाट पीडित गैर आवासीय नेपालीहरूलाई तेस्रो चरणअन्तर्गत कुवेत र युएईमा ६–६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरूको लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । यसअघि सङ्घले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, इटाली, माल्टा, कुवेत, युएई, साउदी अरब र साईप्रसमा कोरोनाबाट प्रभावित नेपालीको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

सङ्घले हालसम्म विदेशमा कोभिड पीडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

एनआरएनएले बिहीबारसम्म विदेशमा अलपत्र परेका पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २ सय ९९ नेपाली स्वदेश फर्किएका छन् ।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार नौ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ । अहिलेसम्म गैर आवासीय नेपाली सङ्घ र विदेशस्थित नेपाली दूतावासको समन्वयमा म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट एक सय ६८, अस्ट्रेलियाबाट ११, जापानबाट ७ र कुवेतबाट २ सय ९९ गरी ५ सय ११ जनाको उद्धार गरिएको छ ।

यसैबिच नेपाली श्रमिकको उद्धारको लागि एनआरएनएले संयुक्त राष्ट्र सङ्घमा छलफल गरेको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्र संघअन्तरगतको इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन (आइओएम) सँग सङ्घका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको थियो ।

गत बुधवार भिडियो कन्फ्रेन्समार्फत् भएको छलफलमा राष्ट्र सङ्घअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्धारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिनु भएको थियो ।

आइओएमले कोरोना भाइरसको सङ्क्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न इच्छुक रहेको जनाएको गैर आवासीय नेपाली सङ्घ, उच्चस्तरीय समितिका प्रेस संयोजक, चिरन शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित

अक्सोमिटरको कालोबजारी गर्ने पक्राउ

२५ मिनेट अगाडि ध्रुव अधिकारी

भीमेश्वरको सिलामा पसिना

४८ मिनेट अगाडि चिरञ्जीवी मास्के