तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्सा, रौतहटका ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगन्ज । नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा आज बिहान थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका १७, बाराका नौ, रौतहटका सात र सर्लाहीका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा हिजो मात्रै झन्डै पाँच सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि हुनेमा पर्साको पोखरिया क्वारेनटिनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसै गरी विन्दवासिनी क्वारेनटिनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दवासिनी–३ का २६ वर्षीय पुरुष, जिराभवानी क्वारेनटिनमा बस्दै आएका जिराभवानी–१ शान्ति टोलका ३२ वर्षीय पुरुष, धोविनी क्वारेनटिनका २७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।

यसै गरी पर्सा गढी नगरपालिका–४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– १ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरू सम्बन्धित पालिकाको क्वारेनटिनमा बस्दै आएको उपाध्यायले बताउनुभयो ।

पर्सामा सङ्क्रमित देखिएका १७ जनालाई नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जानकारी दिनुभयो ।

त्यसै गरी बाराका नौ जना सङ्क्रमित सबै पचरौता क्वारेन्टाईनमा बस्नेहरू रहेका छन् ।

पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा सङ्क्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।

त्यसै गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा रौतहटका सात र सर्लाहीको एक जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

विगत केही दिन यता बारा,पर्सा,रौतहटमा क्वारेन्टाईनमा बस्नेहरूको रिपोर्ट ढिलो आएको भन्दै आन्दोलनमा उत्रिने र क्वारेन्टाईनबाट भाग्ने क्रम बढेसँगै नारायणी अस्पतालको प्रयोगशालालाई पूर्ण क्षमतामा सञ्चालन गरिएको र एकै दिन ३/४ सयको हाराहारीमा परीक्षण भइरहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button