तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा अघि बढ्दै विकास निमार्ण

सल्यान । बन्दाबन्दीका कारण झन्डै दुई महिनादेखि ठप्प भएका विकास निमार्ण अघि बढेको छ । सुरुमा केही समय अलमल भए पनि स्थानीय प्रशासनबाट अनुमति लिएर निमार्णका काम सुचारु गरिएका हुन ।

बन्दाबन्दीका कारण केही समय अलमल भए पनि अहिले विकास निमार्णका काम तीव्र रूपमा अघि बढी रहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

लकडाउनकै बिचमा पहिरो नियन्त्रण, बाँध निमार्ण, पूर्वाधार निमार्णका काम सञ्चालन भइरहेको डिभिजन वन कार्यालय सल्यानका निमित्त प्रमुख रमेश गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनका कारण एक दुई महिना काम हुन नसकेपछि पछिल्लो समयमा सामाजिक दुरी कायम गरी ११ वटा योजना सञ्चालन भई अन्तिम चरणमा पुगेका छन् ।’

यस्तै कृषि विकास कार्यालय सल्यानले पनि झन्डै २३ वटा साना तथा मझौला सिँचाई योजनाहरू सञ्चालन गरिरहेको छ ।

लकडाउनभन्दा अघिको गतिमा त काम भएको छैन तर ठप्पै पनि नभएको कृषि विकास कार्यालयका सूचना अधिकारी रेसम कुमार बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वातावरण मिलेसम्म हामीले निमार्ण अनुमति लिएर काम निरन्तर गरी रहेका छौँ ।’

बस्नेतका अनुसार झन्डै चार करोडको लगानीमा यो वर्ष पाँच हजार ६ सय ३७ मिटर सिँचाई कुलोहरू निमार्ण गरिएका छन् । केही योजना सम्पन्न भइसकेको र केही योजना अन्तिम चरणमा रहेका छन् ।

पूर्वाधार विकास कार्यालय सल्यानले पनि सडक, झोलुङ्गे पुल र मोटरेबल पुल लगायतका योजनाको काम गरिरहेको छ ।

कार्यालयका निमित्त प्रमुख विनोद पुनका अनुसार लुहाम रामपुर, खलङ्गा कुपिण्डे, थारमारे चौरजहारी लगायतका सडकको काम भइरहेको छ ।

उहाँका अनुसार कुदुखोला र नाम्राखोला झोलुङ्गे पुल र शारदा खोला, बरला, जिमालीखोला, तथा दार्माखोला मोटरेबल पुलको कामलाई पनि तीव्रता दिइएको छ । उहाँले भन्नुभयो ‘लकडाउनको अवधिमा पनि हामीले कुनै काम रोकेका छैनौँ । मेसिनरी, औजार प्रयोग गरेर काम गर्नुपर्ने योजना भएकाले पनि योजना ठप्प भएका छैनन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button