तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा दुई जना कोरोना सङ्क्रमित निको भई घर फर्किए

अछाम – अछाममा दुई जना कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् ।

जिल्ला अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका चौर पाटी गाउँपालिका वडा नं.२ सोकटका ३१ वर्षीय युवक र मंगलसैन नगरपालिका वडा नं.४ का २३ वर्षका एम्बुलेन्स चालक कोरोना जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

चौर पाटी गाउँपालिका वडा नम्बर २ सोकटका ३१ वर्षीय युवा अछाममा देखा परेका पहिलो कोरोना सङ्क्रमित हुन् । पहिलो पटक जेठ १४ गते पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरूको पछिल्लो रिपोर्ट लगातार नेगेटिभ आएपछि घर पठाइएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

चौर पाटी गाउँपालिकाले कोरोना निको भएर घर फर्किएकालाई सम्मान गरी सुरक्षित रूपमा घर बस्ने गरी घर पठाएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी टोलीले उनीहरूलाई बिदाइ गरी आगामी दिनमा पनि सुरक्षित बस्न आग्रह गर्नुभयो ।

आफ्नो गाउँपालिकाका सङ्क्रमित निको भई घर फर्केपछि चौर पाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले स्थानीय श्रोतको परिचालन गरी क्वारेनटाइनको व्यवस्था गरिएको बताउनुभयो । उहाँले कोरोना जितेर घर फकिएका युवकलाई चेतनामूलक कार्यक्रममा लाग्न पनि आग्रह गर्नुभयो ।

यता मंगलसैन नगरपालिका-४ का एम्बुलेन्स चालकलाई पनि घर पठाइएको छ । नगरप्रमुख पदम बाेहराले कोरोना जित्न सफल चालकलाई बधाई दिँदै आगामी दिनमा पनि सुरक्षित रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button