तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका दुई जना कोरोना निको भएर घर फर्किए

तनहुँ । तनहुँका दुई जना कोरोना भाइरस(कोभिड-१९) का सङ्क्रमित सोमबार निको भएर घर फर्किनु भएको छ ।

तनहुँका पहिलो कोरोना सङ्क्रमित ऋषिङ गाउँपालिका–४ का २८ वर्षीय पुरुष र जेठ २३ गते सङ्क्रमण पुष्टि भएका ४० वर्षीय पुरुष गरी दुई जना १५ र ११ दिनको अस्पताल बसाइपछि सोमबार घर फर्किनुभएको हो ।

गत जेठ १० गते भारतबाट फर्किएर व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेनटिनमा बसेका २८ वर्षीय पुरुषलाई जेठ १८ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै जेठ ११ गते दिल्लीबाट आई गाउँपालिकाले तयार गरेको क्वारेनटिनमा बसेका ४० वर्षीय पुरुषलाई २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत ती पुरुषहरूलाई केन्द्रका सञ्चालक राम भण्डारी, निमित्त कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठ लगायतले बिदाइ गर्नुभएको थियो ।

सोमबार दोस्रो पिसिआर रिपोर्टमा दुवै जनाको नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको केन्द्रका निमित्त कार्यकारी निर्देशक डा.श्रेष्ठले बताउनुभयो ।

यस्तै, जेठ २३ गते नै सङ्क्रमण पुष्टि भएका ३९ वर्षीय पुरुषको भने रिपोर्ट पोजेटिभ आएको छ ।

डा.श्रेष्ठका अनुसार निको भएका पुरुषलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन जिल्ला आयुर्वेद कार्यालयले उपलब्ध गराएको अश्वगन्धा चूर्ण, गुडुची चूर्णलगायत रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि मात्र सेवन गराइएको थियो ।

सङ्क्रमितले आफू अस्पतालमा रहँदा तातोपानी र आयुर्वेदिक औषधि मात्रै सेवन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ’आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने रहेछ ।’

अस्पतालबाट घर फर्किएका युवकलाई लिन ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ अस्पताल पुग्नुभएको थियो ।

डिस्चार्ज भएका दुई जनालाई १५ दिनसम्म घरमै सुरक्षित रूपमा बस्न लगाइने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसैबिच जिल्लाको घिरिङ गाउँपालिकाका पाँच जनामा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूको सोही अस्पतालमा राखेर उपचार भइरहेको छ ।

यसअघि ऋषिङका दुई र घिरिङका एक पुरुषसमेत सोही अस्पतालमा उपचाररत छन् । दुई जना निको भएर फर्किएपछि केन्द्रको आइसोलेसनमा सात जना छन् ।

अस्पतालले सङ्क्रमितको उपचारमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी खटाएको छ ।

पाँच सय छ जनाको रिपोर्ट आउन बाँकी
यस्तै, सोमबारसम्म जिल्लाका क्वारेनटिन ६४ महिला र सात सय १० पुरुष गरी सात ७४ जना बस्दै आएका छन् । भने आइसोलेसनमा सात जना रहेका छन् ।

एक हजार सात जनाको कोरोना परीक्षणका लागि स्वाब नमुना सङ्कलन गरिएकोमा चार ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने नौ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, पाँच सय छ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button