तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको बन्देउमा अस्थायी होल्डिङ सेन्टर निर्माण गरिने

सिन्धुपाल्चोक । विदेशबाट आएका जिल्लाका नागरिकहरूको व्यवस्थापन गर्नका लागि बन्देउमा अस्थायी होल्डिङ सेन्टर निर्माण गरिने भएको छ ।

विदेशबाट आएकालाई काठमाडौँमा रहेको बाग्मती प्रदेशको होल्डिङ सेन्टरबाट ल्याएर जिल्लामा राख्न र स्थानीय तहमा पठाउन बन्देउमा अस्थायी होल्डिङ सेन्टर निर्माण गर्न लागिएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँमा रहेको होल्डिङ सेन्टरबाट यातायातको व्यवस्था गरी बन्देउको होल्डिङ सेन्टरसम्म ल्याउनका लागि विदेशबाट आएका नागरिकहरूको व्यवस्थापन गर्न जिल्लामा बनेको उप–समितिलाई जिम्मा दिएको छ ।

बन्देउको होल्डिङ सेन्टरबाट स्थानीय तहहरूले यातायातको व्यवस्था गरी आफ्ना नागरिकलाई स्थानीय तहहरूले व्यवस्था गरेको क्वारेनटाइनमा लानेछन् ।

मेलम्ची क्षेत्रका स्थानीय तहका लागि भने जिरो किलोबाट सम्बन्धित स्थानीय तहले आफ्ना नागरिक लाने व्यवस्था मिलाइनेछ ।

बन्देउको होल्डिङ सेन्टरका लागि आवश्यक कुर्सी, पानी, शौचालयजस्ता आवश्यक भौतिक सामग्रीको निर्माण गर्न र काठमाडौँबाट सिन्धुपाल्चोक ल्याउन यातायातको व्यवस्थाका लागि प्रत्येक स्थानीय तहले ५० हजारका दरले रकम उपलब्ध गराउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button