तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभा : बजेटमाथिको छलफल सुरु

पोखरा । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि प्रदेशसभामा छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेटमाथि बुधबार प्रदेशसभामा छलफल थालिएको हो । छलफलमा सहभागी सदस्यले बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुभएको छ ।

प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मीले बजेटले कोरोनाको रोकथाम, नियन्त्रणका साथै स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । सीमित स्रोत र साधनकाबीच विगतका विकास निर्माणका योजनालाई बजेटले निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रदेशका माननीयलाई विकास निर्माण एवं स्थानीय तहसँग जोडिने गरी कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । युवा तथा खेलकूद, उद्योग, पर्यटनका हरेक क्षेत्रमा बजेट केन्द्रित भएको बताउँदै उहाँले यो बजेट प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध भएको धारणा राख्नुभयो ।

अर्का सदस्य इन्द्रलाल सापकोटाले कोरोनाको सन्त्रासबीच आएको बजेटले यसको रोकथामका लागि रु तीन अर्ब विनियोजन गरेको बताउनुभयो । नीति तथा कार्यक्रमका साथै प्रदेशको पञ्चवर्षीय योजना दिगो विकासको लक्ष्यका आधारमा बजेट आएको उहाँले बताउनुभयो । बजेटले विगतका सबै योजनालाई समेटेर निरन्तरता दिएको उहाँले उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षको पूँजीगत खर्चको अवस्था राम्रो नदेखिएको बताउँदै उहाँले यसको समीक्षा गर्दै नीतिगत एवं शासनप्रणालीमा सुधार गर्नुपर्ने विषयलाई सुधार्दै जानुपर्ने सुझाव दिनुभयो ।

सदस्य खिमविक्रम शाहीले कोरोनालाई लक्षित गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक भएको बताउनुभयो । उहाँले गाउँपालिकाका क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन नभएको पाइएकाले आगामी दिनमा त्यसतर्फ गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आरडिटीलाई बन्द गरी पिसिआर परीक्षण बढाउँदै चाँडै रिपोर्ट आउने व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । चालु आवमा खर्च नहुँदा बजेट बढ्न गएको बताउँदै उहाँले खर्च गर्न नसक्नु सरकारको असफलता भएको बताउनुभयो ।

सदस्य धनमाया पोखरोल लामाले बजेट परम्परावादी भएको टिप्पणी गर्नुभयो । बजेटले स्वास्थ्य, शिक्षा कृषिमा बढी चर्चा गरे पनि त्योअनुरुप बजेट आउन नसकेको उहाँको धारणाा थियो । कोरोना प्रभावित वैदेशिक रोजगारी गुमाएका र यही रोजगारी नभएका व्यक्तिका लागि बजेटले बोल्न नसकेको उहाँले उल्लेख गर्नुभयो । गोरखाको चुमनुब्रीको विकास गर्दै त्यसको पर्यटकीय विकास एवं चीनसँग व्यापारिक नाका जोड्नका लागि उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सदस्य मीना गुरुङले बजेट सही कार्यान्वयन हुनसकेमा यसले समृद्धि प्राप्त गर्न सम्भव हुने बताउनुभयो । बजेटले कोरोनाका कारण रोजगारी गुमाएका व्यक्तिका लागि लागि सीप, पूँजी र प्रविधि अभिवृद्धिका लागि रु १८ करोड छुट्याएको बताउनुभयो । अनुत्पादक लगानी र खर्चलाई कटौती गर्दै सरकारले रोग भोक र शोकको समस्याको समाधानलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । बजेट समाजवाद उन्मुख रहेको गुरुङको भनाइ छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button