तपाईँ सुन्दै हुनुहुन्छः

झापाका ११ सहित प्रदेश–१ मा एकै दिन ४० जनाले जिते कोरोना

झापा । प्रदेश–१ बाट आज कोरोना सङ्क्रमण निको भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका नौ र भोजपुरका चार जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् ।

सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरूलाई आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल, उप–प्रमुख धना तामाङ लगायतले बिदाइ गर्नुभयो ।

अस्पतालबाट डिस्चार्ज भएकाहरूलाई बिदाइ गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण अन्त्यको आधार तय हुँदै गएकाले प्रदेशवासीले चाँडै सुखद खबर सुन्न पाउने बताउनुभयो ।

क्वारेन्टाईनमा मात्र सङ्क्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने र अब झन् क्वारेन्टाईनलाई व्यवस्थित गर्दै लैजाने तयारी रहेको मन्त्री घिमिरेको भनाई छ ।

मापदण्ड विपरीतका क्वारेनटाइन बन्द गरिँदै लैजाने उहाँले बताउनुभयो ।

आज डिस्चार्ज हुनेहरू गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएकाहरू रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा शास्त्र संकायका डिन डा.शैलेशमणी पोखरेलले जानकारी दिनुभयो ।

प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या दुई सय २४ पुगेको छ । सङ्क्रमितको सङ्ख्या चार सय १६ रहेको छ ।

सङ्क्रमित मध्ये २९ जना कोसी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button