तपाईँ सुन्दै हुनुहुन्छः

८१ दिनपछि जानकी मन्दिर खुल्ला, सुरक्षा सतर्कता अपनाउन जरुरी

जनकपुरधाम । विश्वका हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर कोरोना महामारीका कारणले ८१ दिनपछि खुलेको छ ।

महामारीको नियन्त्रण तथा रोकथामका लागि घोषणा गरिएको लकडाउन अवधिमा मन्दिरको मूल ढोका बन्द रहको थियो ।

गत चैत्र १५ गते देखि जानकी मन्दिरको मूल ढोका बन्द गरिएकोमा अहिले खुल्ला गर्ने काम भएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।

जानकी मन्दिर स्थापना भएको पाँच सय वर्षको इतिहासमा पहिलो पटक मूल ढोका ८१ दिनसम्म बन्द गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्वले जानकारी दिनुभयो ।

मन्दिरका संस्थापक महन्थ सुरकिशोर दास वैष्णवले स्थापना गर्नु भएको जानकी मन्दिर सुरुमा सानो आकारको भए पनि भारतका टिकमगढका महारानी बृषभानु कुमारीले आज भन्दा एक सय २६ वर्ष अगाडी तत्कालीन ९ लाख असर्फी मुद्रामा अहिलेको जानकी मन्दिरको विशाल मन्दिरको निर्माण गराउनु भएको थियो ।

विश्वका हिन्दुहरूका लागि आस्थाको केन्द्रको रूपमा रहेको जानकी मन्दिर खुले पनि भक्तजनहरू निक्कै कमै मात्रामा पूजा पाठका लागि आउने गरेका छन् । मन्दिरमा आउने भक्तजनहरू प्रायः स्थानीय नै रहेको उत्तराधिकारी महन्थ दासले जानकारी दिनुभयो ।

लकडाउन अवधिभरिमा मन्दिरको मूल ढोका बन्द रहे पनि भित्र पूँजारी तथा महन्थहरुले परम्परागत रूपमा चल्दै आएको पद्धतिद्वारा नियमित रूपमा पूजापाठ आयोजना गर्दै आएका थिए ।

मन्दिरका मूल ढोका खुल्ला भए पनि कोरोनाको सङ्क्रमण जारी नै रहेका कारणले भक्तजनहरू निक्कै न्युनमात्रामा दर्शनका लागि पुग्ने गरेका छन् ।

भक्तजनहरू मन्दिरमा पुगे पनि मास्क, सेनिटाईजर तथा व्यक्तिगत दूरी कायम गर्ने गरी मन्दिरमा प्रवेशका लागि उचित व्यवस्थापन गरेको पाइँदैनन् । सचेत भक्तहरू आफै दूरी बनाएर पूजापाठ तथा दर्शन गर्ने गरेका छन् ।

स्थानीय प्रशासन, प्रदेश सरकार तथा मन्दिरका व्यवस्थापन यस तर्फ सचेत रहनु पर्ने अवस्था रहेको छ । खास गरेर मन्दिर प्रवेश गर्नेलाई सेनिटाईजर वा साबुन पानीले हात खुट्टा धुन लगाएर मात्र प्रवेश गराउने व्यवस्था मिलाउन जरुरी रहेको छ ।

खास गरेर अहिले पनि प्रदेश तथा देशभरिको विभिन्न क्वारेन्टाईनमा बस्नेहरूमा कोरोनाको सङ्क्रमण देखिइएकाले सजगता अपनाएर पूजापाठ तथा दर्शनको व्यवस्थापन नभएको खण्डमा थप जोखिम रहेको छ ।

मन्दिरमा निक्कै कम सङ्ख्यामा पर्यटन प्रहरी भए पनि पूजाका लागि अहिले अवस्थामा अपनाउनु पर्ने सावधानी अपनाएको देखिइएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button