तपाईँ सुन्दै हुनुहुन्छः

देशभर आंशिक देखि सामान्य बदली हुने

काठमाडौ । मनसुनी वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पूर्वी भूभाग हुँदै जुन १२ (गत जेठ ३०) गते प्रवेश गरेको मनसुन सक्रिय भएसँगै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेले बताउनुभयो । उहाँका अनुसार ५० मिलीमिटरसम्मको वर्षालाई हल्कादेखि मध्यम वर्षा र ५० मिलीमिटरदेखि माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

मनसुन सक्रिय भएकाले अबको केही दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको बताइएको छ । हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली र प्रदेश २, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा सामान्य बदली रहनुको साथै प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव आठ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव छ डिग्री सेल्सियस छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button