तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ३५ प्रतिशत धान रोपाई


सल्यान । सल्यानमा शहरी क्षेत्रदेखि ग्रामिण क्षेत्रमा धान रोपाई सुरु भएको छ । यो वर्ष लगातार वर्षात भएको र खोलाको पानीको सहत बढेपछि जिल्लाका किसान धान रोपाईमा व्यस्त हुन थालेका छन् ।

बन्दाबन्दीको समय बढ्दै गएपनि भौतिक दुरी कायम गरी किसानहरु धान रोप्न व्यस्त देखिएका छन् । यतिबेला जिल्लाको खाद्यान्न उत्पादनको आधा हिस्सा ओगटेको शारदा फाँटमा किसानहरुलाई धान रोप्ने चटारो रहेको छ ।

समयमै वर्षात भएका कारण धान रोपाई छिटो भएको बागचौर नगरपालिका २ का कृषक भद्र बहादुर घर्तीले बताए । उनले भने ‘पहिले रोपाई गर्न मानिस नपाउने समस्या थियो तर घर परिवार र छिमेकी मिलेर यो वर्ष धान रोपि रहेका छौं । भौतिक दुरी कायम गरी धान रोप्न कार्य भइरहेको उनको भनाई छ ।’

सल्यानमा हालसम्म ३५ प्रतिशत धान रोपाई भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । लगातारको वर्षातका कारण यो वर्ष किसानहरुले समयमै धान खेती सुरु गरेको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए । उनका अनुसार जिल्लाका शारदा नदि किना, श्रीनगर, रेशम ज्युला, चैवाङ ज्युला, गरि ज्युला, रामपुर, मर्म खोला, बनगाड खोला आसपासमा धान खेती हुने गर्दछ ।

किसानहरुले समयमै धान खेती गरेकाले गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा वृद्धि आउने अनुमान गरिएको बस्नेतले बताए । गत आ.व मा ७ हजार ७८ हेक्टरमा धान खेती भएको थियो ।

यस वर्ष सल्यानका तीन पकेट क्षेत्र (शारदा नगरपालिका, बनगाड कुपिनण्डे नगरपालिका र छत्रेश्वरी गाउँपालिका)का लागि ५० प्रतिशत अनुदानमा आधुनिक मेसिनरी औजार, उपकरण, विउ, मल लगायतका सामाग्री उपलब्ध गराइएको बस्नेतले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button