तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक कार्यालय, चितवनको राजश्व संकलन बृद्धि


चितवन । लामोसमय सम्मको लकडाउनका कारण सबै कार्यालयको राजश्व संकलनमा असर परिरहेको बेला आंशिक लकडाउन भएसंँगै ट्राफिक कार्यालय, चितवनको राजश्व संकलनमा बृद्धि भएको छ । चालु आर्थिक बर्ष बैशाख महिनाको तुलनामा कार्यालयले तीन गुणा राजश्व संकलन गर्न सफल भएको हो ।

कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा ६ लाख ६१ हजार राजश्व संकलन गरेको छ । बैशाख महिनामा २ लाख ५ सय रुपैयाँ राजश्व असुली गरेको थियो भने चैत्र महिनामा ११ लाख ९७ हजार रुपैयांँ राजश्व संकलन गरेको थियो ।

कार्यालयका प्रमुख दयाकृष्ण भट्टका अनुसार अधिकांश सवारी साधन बन्द भएका कारण राजश्व संकलन कमी भएको हो । ‘हाम्रो राजश्वको श्रोत नै सवारी साधन हो । सबैजसो सवारी साधन ग्यारेजमा थन्किएका छन । उनले भने, सेमि लकडाउन भएसंँगै जेठ महिनामा राजश्व संकलनमा बृद्धि भएको छ ।’

सवारी साधनको चाप बढेसंँगै आगामी महिनामा राजश्व संकलनको अनुपात बढ्ने भट्टको भनाई छ ।

लकडाउन अवधिभर १ हजार ६ सय ३१ सवारीसाधन कारवाहीमा

ट्राफिक कार्यालय चितवनले लकडाउन अवधिभर सवारी नियम उल्लंघन गर्ने १ हजार ६ सय ३१ सवारीसाधनलाई कारवाही गरेको छ । सो अवधिभर कारवाहीमा ३ सय ८१ वटा ट्रक, १२ वटा वस, २ सय ५९ वटा जीपकार, ४९ वटा ट्रयाक्टर, ८ सय ९४ वटा मोटरसाइकल, र ३२ वटा अटोरिक्सालाई कारवाही गरिएको हो । ती सवारी साधनबाट नै राजश्व संकलन गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा समेत कमी

सवारी साधन कम चलेसँगै यो तीन महिनामा दुर्घटनामा समेत कमी आएको छ ।

लकडाउन अघि दैनिक दुर्घटना हुंँदा महिनामा अधिकतम १२ जनाको मृत्यु भएपनि लकडाउन पछि भने यो संख्या ह्वात्तै घटेको छ । कार्यालयले दिएको जानकारी अनुसार बैशाख महिना र जेठ महिनामा २÷२ जनाको मृत्यु भएको थियो भने चैत्रमा दुर्घटनाबाट कसैको ज्यान गएको छैन ।

तीन महिनाको अवधिमा जम्मा ३५ जना मात्र सवारी दुर्घटनाबाट घाइते भएका थिए । कतिपय खाद्यसामाग्री र निर्माण सामाग्री बोक्ने सवारी साधनबाट दुर्घटना भएको प्रमुख भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button