तपाईँ सुन्दै हुनुहुन्छः

आज ४ सय २६ संक्रमित थपिए, २ सय १६ जना संक्रमण मुक्त

फाइल तस्बिर

काठमाडौ । आज थप ४ सय २६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ३ सय ३८ जना पुरुष र ८८ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

हाल सम्म ७४ जिल्लाका ७ हजार ५ सय ६७ जना पुरुष र ७ सय ७ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप २ सय १६ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १ हजार ४ सय २ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आईसोलेसन सेन्टरबाट २ सय ७ जना पुरूष र ९ जना महिला संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सम्म १ सय २३ जना महिला र १ हजार २ सय ७९ जना पुरुष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा १ लाख ६१ हजार ७ सय ४९ जनाको पिसीआर तथा २ लाख ४७ हजार ८ सय ७४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३१ जनाको पिसीआर तथा ४ हजार ३ सय ९९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ६ हजार २ सय ५० जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैबीच मन्त्रालयले जारी गरेको निर्देशिकाले तोकेका व्यक्तिहरुको मात्र कोरोना भाइरसको नमूना संकलन तथा परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।

निर्देशिका विपरितका नमूनाहरु परीक्षण गर्दा श्रोत–साधनको दुरूपयोग हुने र आवश्यक व्यक्तिहरुको नमुना परीक्षण समयमा हुन नसक्ने मन्त्रालयका प्रवक्ता प्रा. डा गौतमले बताउनुभयो ।

यसैगरी मन्त्रालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि माक्सको सही प्रयोग गर्न र नियमित हात धुने बानी बसाल्न समेत सबैसंग आग्रह गरेको छ ।

यसैगरी स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले कोरोना परीक्षण किट लयागतका स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको समेत स्पष्ट पारेको छ ।

मन्त्रालयको नियमित मिडिया व्रिफिङमा विभागका व्यवस्थापन महाशाखा प्रमुख डा. रमेश खरेलले खरिद प्रक्रियाको प्रचलित कानून अनासर नै खूल्ला प्रतिस्पर्धाका आधारमा आपुर्तिकर्ताको छनौट भएको बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग संग अहिले स्वास्थ्य कर्मीहरूका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पर्यप्त मात्रामा रहेको र पिसिआर परिक्षणका लागि आवश्यक रिएजेन्ट लगायतका सामग्रीहरु पनि आवश्यकता अनुसार उपलब्ध गराईरहेको महासाखाका प्रमुख डा. खरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button