तपाईँ सुन्दै हुनुहुन्छः

विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घट्यो

काठमाडौं । चालुआर्थिक वर्षको १० महिनाको अवधिमा मुलुकमा भित्रिने विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले घटेर ६८० अर्ब ८४ करोड रुपैयामा कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो ।

२०७७ बैशाख मसान्तमा विदेशी विनिमय १ हजार २३५ अर्ब २५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ बैशाख मसान्तमा रु.१०७५ अर्ब १९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७७ बैशाख मसान्तमा रु.१६० अर्ब ७ करोड पुगेको छ । २०७७ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button