तपाईँ सुन्दै हुनुहुन्छः

दमक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक


झापा । झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । हिजो नगरपालिकाको सभाहलमा भएको सातौ नगरसभाले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

असार १० गते पुनः बस्ने गरि स्थगित भएको नगरसभामा दुई ओटा विधेयक पेश भएका छन् । नगरपालिकाको आर्थिक विकास समितिका संयोजक ईन्द्रबहादुर गुरुङ्ले कृषि तथा पशुपञ्छी विधेयक र विधायन समितिका संयोजक बोधराज न्यौपानेले दमक प्रज्ञा प्रतिष्ठान विधेयक पेश गरेका हुन् । विधेयक माथि सुझाव दिन असार ११ गते सम्मको समय दिईएको छ । नगरप्रमुख रोमनाथ ओलीले सभाको दोश्रो सत्र असार १० गतेलाई आह्वान गर्नुभएको छ ।

नगरसभामा उपप्रमुख गीता अधिकारीले आगामी वर्षका लक्ष्य, अनुमान तथा कार्यक्रम सहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा पूर्वाधार विकाससँगै सामाजिक कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ ।

नीति तथा कार्यक्रममा विभिन्न नौ वटा शीर्षकमा नगरपालिकाले पूर्वाधार तर्फका लक्ष्य सार्वजनिक गरेको छ । नगरपालिकाले पूर्वाधारसँगै विभिन्न सामाजिक कार्यक्रमहरुको पनि लक्ष्य सार्वजनिक गरेको छ । १ हजार परिवारको निशुल्क स्वास्थ्य विमा गर्ने, २ सय अति बिपन्न परिवार पहिचान गरि उनीहरुलाई खाद्यान्नमा छुट उपलव्ध गराउने, तीन ओटा सुपथ मूल्य पसल सञ्चालन गर्ने, २ सय मजदुरलाई भलाई कोषमा सहभागि गराउने, विपन्न, दलित, एकल महिला, अपांगता भएका र यौनिक अल्पसंख्यकहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्ने जस्ता कार्यक्रमहरु नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button