तपाईँ सुन्दै हुनुहुन्छः

मल उपलब्ध गराउन संघीय सरकारलाई प्रदेश कृषिमन्त्री साहको आग्रह


सप्तरी । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले धान खेतीकालागि मल अभाव रहेको भन्दै नियमित एवम् सहज आपूर्तिका लागि संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै संघीय सरकारलाई गम्भीर बन्न आग्रह गर्नु भएको छ । संघ सरकारले विभिन्न लटमा आपूर्ति गरेको मल प्रदेश २ मा कम मात्रामा आएको भन्दै अबको लटमा आउने भनिएको १२ हजार मेट्रिक टन मल प्रदेश २ मै खपत गराउने व्यवस्थाका लागि मन्त्री साहले आग्रह गर्न भएको हो ।

‘देशको कूल उत्पादनमध्ये ३० देखि ४० प्रतिशतसम्म धान उत्पादन हुने प्रदेश २ मा अहिलेसम्म करिब २० प्रतिशत धान रोपाइँ भएको र मनसुन आएकोले रोपाइँका बेला पर्याप्त परिमाणमा डिएपी युरिया चाहिन्छ भन्ने बोध संघीय सरकारलाई समेत भएको हुनुपर्ने कुरामा म विश्वस्त छु’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘प्रदेश २ मा धानबालीका लागि मात्र करिब एक लाख मेट्रिक टन मल आवश्यक हुन्छ, त्यसैले अहिले संघीय सरकारले प्रदेश २ लाई उपलब्ध गराउने मल पर्याप्त नहुने निश्चित छ ।’ रोपाइँपछि माथिबाट छर्कने बेला अझ बढी परिमाणमा मलको आवश्यकता हुने भन्दै उक्त विषयमा समेत संघीय प्रशासनका सरोकारवालाहरूलाई अवगत गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

देशमा बर्सेनी ७ लाख मेट्रिक टन मल आवश्यक रहेकोमा ३ लाख मेट्रिक टन प्रदेश २ लाई मात्र चाहिने हुँदा मल आपूर्तिमा थप गम्भीरता अपनाउँदै यसको उपलब्धताका लागि मल कारखाना आदि स्थापना गर्न समेत संघीय सरकारसँग मन्त्री साहले ध्यानाकर्षण गराउनु भएको हो । माटोको उर्वरा शक्तिमा ह्रास, सिंचाइका लागि अपर्याप्त संरचना, हाइब्रिड बीउको बढ्दो प्रयोग तथा पारिस्थितिकीय प्रणालीमा परेको प्रतिकूल असर आदिका कारण तराई मधेसमा खेतीकिसानी कार्य अत्यन्त कष्टप्रद र चुनौतीपूर्ण हुँदै गएको मन्त्री साहद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

किसानहरूले समयमा मलखाद र बीउबिजन नपाउँदा उत्पादन लागत बढ्ने, उत्पादित सामग्रीको परिमाण कम हुने र प्रतिफल प्राप्तिमा कठिनाइ हुने समस्या वर्षौंदेखि भईरहेकोले धान रोपाइँका बेलामा उचित र आवश्यक परिमाणमा मलखाद प्राप्त हुने वा नहुने पिरलो किसानहरूमा रहेकोमा प्रदेश सरकार किसानहरूको यो चिन्ता र चासोप्रति अत्यन्त संवेदनशील रहेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button