तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरका स्थानीय तहको नीति कार्यक्रम : कृषि, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिक्ता

मकवानपुर । मकवानपुरका स्थानीय तहहरुले आज बुधबार आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँ/नगर सभामा प्रस्तुत गर्दैछन् । स्थानीय सरकार संचालन ऐन अनुसार स्थानीय तहहरुले हरेक वर्ष असार १० गते आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभामा पेश गर्नुपर्ने प्रावधान अनुसार आज मकवानपुरका स्थानीय तहहरुले पनि नीति कार्यक्रम पेश गर्ने भएका हुन् ।

जिल्लाका १० वटै स्थानीय तहले आज बस्ने गाउँ/नगरसभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम प्रस्तुत हुने जनाएका छन् । स्थानीय तहहरुले आगामी वर्षको नीति कार्यक्रममा कृषि, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिक्तामा राखेको जनाएका छन् । स्थानीय तहहरुले विश्वभर माहामारीका रुपमा फैलीएको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव कमगर्न सक्ने गरी बजेट निर्माणको तयारी गरेका छन् । स्थानीय तहहरुले कृषि, स्वास्थ्य, रोजगारीलाई पहिलो प्राथमिक्ता तथा भौतिक पुर्वाधार निर्माणलाई दोस्रो प्राथमिक्तामा राखेका छन् । मकवानपुरका सबै स्थानीय तहहरुले आज नगरसभामा नीति कार्यक्रम पेश गरेपनी बजेट भने सबैको पेस नहुने जनाएका छन् ।

बुधबार जिल्लाको एकमात्र हेटौंडा उपमहानगरपालिकाले अगामी आर्थिक वर्षका लागि कृषि र उत्पादनलाई पहिलो प्राथमिक्तामा राखेर योजना निर्माण गरेको जनाएको छ । उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले आगामी आर्थिक वर्षका लागि २ अर्ब बढीको बजेट निर्माणको तयारी भएको र आगामी वर्ष कृषि उत्पादन वृद्धि र रोजगारीलाई पहिलो प्राथमिक्तामा राखिएको बताउनुभयो ।

त्यस्तै जिल्लाको एकमात्र थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कृषिसंगै पर्यटन र रोजगारी र स्वास्थ्य पहिलो प्राथमिक्तामा राखेर नीति कार्यक्रम ल्याउँदै छ । करीब ८० करोडको बजेट ल्याउने तयारी गरेको नगरपालिकाले कृषिसंगै पर्यटन, स्वास्थ्य र रोजगारीलाई प्राथमिक्ता दिईएको मेयर लबशेर बिष्टले जानकारी दिनुभयो ।

त्यस्तै मनहरी गाउँपालिकाले करीब ७६ करोडको बजेट ल्याउने तयारी गरेको जनाएको छ । अध्यक्ष एकराज उप्रेतीले आगामी नीति तथा कार्यक्रममा कृषि र पुश पालनको क्षेत्रलाई पहिलो प्राथमिक्ता दिँदै “एक वडा, एक गाउँ, एक स्थान, एक उत्पादन” नमुना कृषि कार्यक्रम, दुधमा अनुदान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले आगाी वर्ष भौतिक पुर्वाधार तर्फ अधुरा योजना सम्पन्न गर्ने र कृषि क्षेत्रलाई नै विशेष प्राथमिक्ता दिने बताउनुभयो ।

त्यस्तै मकवानपुरगढी गाउँपालिकाले पनि कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिक्ता दिएर नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने जनाउको छ । गाउँपालिका अध्यक्ष बिदर हुमागाईले आजको नगरसभामा बजेटको प्रारम्भीक खाका समेत प्रस्तुत हुने बताउनुभयो । उहाँले आगामी वर्षका लागि बैदेशि रोगारबाट फर्किएका तथा वैदेशिक रोजगारमा जान नसक्नेहरुका लागि बिशेष कृषि क्षेत्रसंग जोडेर विशेष कार्यक्रम ल्याउने तयारी भएको बताउनुभयो । गढी गाउँपालिकाले आगामी वर्षका लागि करीब ६९ करोड बराबरको बजेट ल्याउने तयारी भएको उहाँले बताउनुभयो ।
त्यस्तै जिल्लाको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब ७० करोड को बजेट निर्माणाको तयारी गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आगामी आर्थिक वर्षमा गाउँपालिकाले उत्पादन वृद्धिमा जोड दिने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने खालका रोजगारमुखी योजना ल्याउने बताउनुभयो । उहाँले कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिक, रोजगारीलगायत समग्र क्षेत्रको विकासलाई एकरुपताका साथ अगाडी बढाउने बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई प्राथमिक्ता दिएर रोजगारी सृजना गर्ने खालका नीति कार्यक्रम ल्याउने तयारी भएको बताउनुभयो ।

त्यस्तै जिल्लाको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष विश्वभर माहामारीका रुपमा फैलएको कोरोना भाइरसले पारेको प्रभावलाई ध्यानमा राखेर नीति कार्यक्रम तयार पारेको जनाएको छ । गाउँपालिका अध्यक्ष टंक मोक्तानले आगामी आर्थिक वर्ष करीब ५० करोडको बजेट निर्माणको तयारी गरेको साथै भौतिक पुर्वाधारसंगै कृषि क्षेत्रमा रोजगार सृजना हुने खालको नीति कार्यक्रम ल्याउने बताउनुभयो । माहामारीलाई ध्यान दिँदै आगामी वर्षको नीति कार्यक्रममा जनस्वास्थ्यको शीर्षकमा बजेट बढाउने साथै कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रलाई आगामी बजेटमा प्रमुख प्राथमिक्ता खाख्ने बताउनुभयो । उत्पादन वृद्धिलाई जोड दिदै बजेटमा कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने खालका रोजगारमुखी योजना ल्याउने बताउनुभयो ।

त्यस्तै जिल्लाको बकैया गाउँपालिकाले आज ल्याउने नीति तथा कार्यक्रममा भौतिक पुर्वाधारसंगै कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई बिशेष प्राथमिक्ता दिने जनाएको छ । बिशेष गरि वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ध्यानमा राखेर रोजगार उन्मुख बजेट निर्माण गरिने गाउँपालिका अध्यक्ष दामोदर खनालले बताउनुभयो । आगामी गामी आर्थिक वर्षमा करीब ७० करोडको बजेट निर्माण हुने उहाँले बताउनुभयो ।
त्यस्तै जिल्लाको पुर्वी क्षेत्रकै बागमती गाउँपालिकाले कृषि क्षेत्रमा रोजगारमुखी बजेट निर्माणको तयारी गरेको जनाएको छ । आगामी वर्ष करीब ६५ करोडको बजेट बनाउने तयारी गरेको बागमती गाउँपालिकाले कृषि र पशु पालन तर्फ रोजगारमुखी तथा आत्मनिर्भर हुने बजेट निर्माणको तयारी गरेको अध्यक्ष सर्केश घलानले बताउनुभयो । आँफैमा बिकट गाउँपालिका भएकाले जनचेतना अभिबृद्धिसंगसैगै विगतका अनुभव र अहिलेको कोरोना माहामारीलाई ध्यानमा राखेर बजेट निर्माणको तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै भीमफेदी गाउँपालिकाले करीब ५३ करोडको हाराहारीमा बजेट निर्माण गर्ने तयारी गरेको छ । आगामी वर्ष कृषिलाई रोजगारीसंगै जोडेल लैजाने गरि निति कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ महामारीसंग जुध्ने गरि रोजगारभुखी बजेटको तयारी गरेको उहाँले बताउनुभयो । आगामी वर्ष स्वास्थ्य, पशुपालन, कृषि र रोजगारी पहिलो प्राथमिक्ता र पुर्वाधार दोस्रो प्राथमिक्तामा रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको ईन्द्रसरोवर गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसंग जोडेर नीति कार्यक्रम ल्याउँदै छ । आज गाउँ सभामा प्रस्तुत हुने नीति कार्यक्रम तथा बजेटमा कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम निर्माण गरेको उहाँले बताउनुभयो । विभिन्न पकेट क्षेत्र निर्धारण गरेर कृषि उत्पादन बृद्धि गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्वरोजगार बनाउनेखालको बजेट निर्माण गर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले करीब ५० करोड हाराहारीको बजेट निर्माण गर्ने तयारी गरेको र बिशेष रुपमा कृषि र पर्यटनलाई प्राथमिक्ता दिएको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । यस अघिका वर्षहरुमा जिल्लाका सबै पालिकाले आज नीति कार्यक्रम ल्याउने गरेका थिएनन् तर यो वर्ष सबैले बजेट नल्याए पनि नीति कार्यक्रम गाउँ/नगरसभामा पेश गर्ने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button