तपाईँ सुन्दै हुनुहुन्छः

झापाका सबै स्थानीय तहमा कोरोना सङ्क्रमण देखियो, सङ्क्रमितको सङ्ख्या दुई सय पाँच पुग्यो

भद्रपुर, झापा । सोमबारसम्म कोरोना सङ्क्रमणबाट मुक्त रहेको बिर्तामोड नगरपालिकाका दुई जनामा मङ्गलवार कोरोना पुष्टि भएसँगै कोरोनाको सङ्क्रमण झापाका सबै स्थानीय तहमा पुगेको छ ।

मङ्गलवार बिर्तामोड नगरपालिका–५ बस्ने ३६ वर्षीय र वडा नम्बर ७ बस्ने ४६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

एक जना होम क्वारेनटाइनमा र एक जना नगरपालिकाले स्थापना गरेको क्वारेनटाइनमा बसेका व्यक्ति रहेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

उनीहरू केही दिनअघि भारतबाट फर्किएका थिए ।

योसँगै झापाका १५ वटै स्थानीय तहमा कोरोनाको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हिजो थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय पाँच पुगेको छ ।

मङ्गलवार पाँच जना पुरुष र आठ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्गलवार बिर्तामोडमा दुई जना, बुद्ध शान्तिमा छ जना, मेचीनगरमा तीन र हल्दिवारीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएका सात महिला केही दिनअघि कुवेतबाट फर्किएका हुन् भने एक जना भारतबाट फर्किएकी हुन् ।

उपचारका लागि सङ्क्रमित पुरुषलाई मोरङको गोठ गाउँ र महिलालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button