तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज महानगरपालिकाको सातौँ नगरसभाः तीन अर्व ८६ करोडको बजेट प्रस्तुत

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको सातौँ नगर सभाले आर्थिक वर्ष २०७७/०७८ को लागि तीन अर्व ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ रुपैयाँको अनुमानित बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आदर्शनगरस्थित नगर सभागृहमा आज आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाको तर्फबाट उपप्रमुख शान्ति कार्कीले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष ०७७÷०७८ मा कुल रु.तीन अर्व ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ व्यय हुने अनुमान गरिएको छ ।

बजेटमा चालु खर्च तर्फ रु.एक अर्व ६२ करोड ६९ लाख १८ हजार अर्थात् ४२.०९ प्रतिशत, पुँजीगत तर्फ रु. दुई अर्व १७ करोड ४६ लाख ७२ हजार अर्थात् ५६.२६ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु.छ करोड ३६ लाख अर्थात् १.६५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका लागि उज्यालो वीरगन्ज अभियानसँगै तराई मधेस समृद्धि कार्यक्रम, नगर स्तरीय योजना, वडा स्तरीय योजनालाई आवश्यक बजेट छुट्ट्याइएको छ ।

त्यसै गरी नीति तथा कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसलाई आधार बनाई वीरगन्ज विश्वविद्यालय सञ्चालन गर्न प्रदेश र सङ्घीय सरकार तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडी बढाउने भएको छ ।

वीरगन्जमा इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न सम्बन्धित मन्त्रालय लगायत सरोकारवालासँग छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

उद्योग, कलकारखानामा चाहिने जनशक्ति उत्पादन गर्न वीरगन्जमा प्राविधिक कलेजको स्थापना गर्न वीरगन्ज उद्योग वाणिज्य सङ्घ लगायत सङ्घीय, प्रदेश सरकार र अन्य निकायसँग समन्वय गरिने, घना बस्तीको बिचमा रहेको वीरगन्ज कारागारलाई अन्यत्र स्थानान्तरण गर्न सङ्घीय सरकारसँग समन्वय गरी त्यसको विकल्पमा वीरगन्ज महानगरपालिकाले उपयुक्त ठाउँमा स्थान छनौटको लागि सहजीकरण गर्ने, सिर्सिया कोरिडोर निर्माणको लागि त्यसको डिपिआर तयार गर्न सङ्घीय सरकारलाई प्रस्ताव पेस गर्ने जनाइएको छ ।

सिर्सिया रिभर फ्रण्ट आयोजना लाई बहुवर्षिय लगानी योजना सहित यस क्षेत्रलाई आर्थिक, पर्यटकीय तथा वातावरणीय योजनाको रूपमा विकास गर्न सङ्घीय सरकारसँग पहल गरिने, वीरगन्जमा अन्तर्राष्ट्रिय स्तरको नगर सभा हल र व्यापारिक प्रदर्शनी केन्द्र स्थापनाका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिने लगायतका कार्यक्रमहरू रहेका छन् ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का भौतिक पूर्वाधार एवं विकास मन्त्री जितेन्द्र सोनलले मुलुकको आर्थिक केन्द्रको रूपमा रहेको वीरगन्जको विकासको लागि तिनै तहका सरकार बिच आपसी समन्वय हुनु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले सङ्घीय सरकारले वीरगन्जलाई उपेक्षा गरेको भए पनि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरी वीरगन्जको विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लकडाउनको कारण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका बोर्ड सदस्य र नगरपरिषद सदस्य बाहेक अन्यलाई आमन्त्रण गरिएको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button