तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावती गाउँपालिको नीति तथा कार्यक्रम,कृषिमा जोड

मेलम्ची । इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषिलाई विशेष जोड दिएको छ । बुधबार अध्यक्ष वंशलाल तामाङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा खाली रहेको जमिनलाई अधिकतम उपयोगमा ल्याउन भूमि बैकको स्थापना गरिने, व्यावसायिक कृषि उत्पादनमा जोड दिँदै उत्पादित वस्तुहरुको व्यवस्थापन तथा विक्री वितरणका लागि कृषि संकलन केन्द्र तथा ‘एक वडा एक हाट बजार, एक घर पाँच फलफूलका विरुवा, एक घर एक करेसाबारी’को नीति अवलम्बन गरिने साथै सार्वजनिक तथा निजी खाली जग्गामा पुष्पखेती र फलफूल खेतीलाई प्राथमिकता दिइने उल्लेख छ ।

डिजिटल मोबाइल माटो ल्याव स्थापना गरिने, रैथाने कृषि उत्पादन फापर, कोदो, मकै, सखरखण्ड आदिलाई प्रोत्साहन गरिने, इन्द्रावती कोरिडोरमा मास उत्पादनलाई विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । किसानलाई समयमा नै सुलभ, सहज र सहुलियतपूर्ण बीउबिजन उपलव्ध गराउनका लागि वडा नं. ७ मा प्रदेश सरकारसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सम्पन्न गरी सञ्चालनको व्यवस्था मिलाइने जनाइएको छ ।

परम्परागत सीप र ज्ञानको प्रवद्र्धन गर्दै ढाका बुनाइ, गलैंचा बुनाइ उद्योग एवं गाउँघरमा सञ्चालनमा रहेका साना उद्योगहरुलाई प्रोत्साहित गरी पाँच सय युवालाई सीपमूलक तालिमको व्यवस्था गरिने, स्थानीय सहकारी नीतिलाई कार्यान्वयनमा ल्याई ‘एक टोल एक सहकारी, घर घरमा रोजगारी’ अभियानलाई प्रभावकारी बनाई दुई वर्षभित्र युवाहरुलाई स्वरोजगारको व्यवस्था गरिने, कोभिड १९ का कारण जनजीवनमा परेको आर्थिक, सामाजिक शैक्षिक असरलाई मध्यनजर गर्दै सबै खालको सेवा शुल्क, व्यवसाय कर न्यूनतम दरमा लगाइने, गत आर्थिक वर्षमै सुरुवात गरिएको आ.व वर्ष २०७६/०७७ भन्दा आगाडिको मालपोत कर पूर्ण रुपमा मिनहा गरिएकामा यसै आर्थिक वर्षमा पनि मिनाहा गरिएको छ नीति तथा कार्यक्रममा उल्लेख छ ।

मंगलबार मात्र पञ्चवर्षीय योजना सार्वजनिक गरेको इन्द्रावती गाउँपालिकाले सो योजना अनुसारका कार्यक्रम ल्याइएको अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button