तपाईँ सुन्दै हुनुहुन्छः

साउनभित्र एसईईको नतिजा,अन्तिम परीक्षालाई धेरै अङ्क


काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पर्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण भयावह भएको अवस्थामा बाहेक साउनभित्रै सबै काम सक्ने योजना बनाइएको छ । नतिजा प्रकाशनपछि चार लाख ८३ हजार विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा नियन्त्रकको हस्ताक्षर तथा छाप लगाउने कार्यका लागि केही दिन लाग्ने अनुमान गरिएको छ ।

विद्यार्थी विद्यालय जानु पर्दैन
एसईईका विद्यार्थी आफ्नो विद्यालयमा भने जानु नपर्ने भएको छ । तर, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र माध्यमिक तहको ज्येष्ठ सदस्य भने विद्यालय जानुपर्ने गरी कार्यविधि बनाइएको छ । ज्येष्ठ शिक्षकबारे थप स्पष्ट गर्दै भनिएको छ, “सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि हुुनेछन् ।’’
कार्यविधिले विद्यालयको प्रधानाध्यापक अध्यक्ष तथा सम्बन्धित कक्षा शिक्षक र विद्यालयको माध्यमिक तहको ज्येष्ठ शिक्षक सदस्य रहने गरी मूल्याङ्कन समिति गठन गर्ने प्रावधान तय गरिएको छ । समितिले अन्तिम मूल्याङ्कनको प्रमाणित गर्ने काम पनि गर्नेछ । विद्यालयले २० गतेभित्र विद्यार्थीको अन्तिम मूल्याङ्कन गरी जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्ने समय तय गरिएको छ ।

अन्तिम परीक्षालाई धेरै अङ्क
विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अङ्क जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । अन्तिम परीक्षालाई सबैभन्दा धेरै अङ्क दिने सरकारले नीति बन(ाएको छ ।
विद्यालयले विद्यार्थीको अन्तिम मूल्याङ्कन गरेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने जिम्मेवारी दिइएको छ । समन्वय एकाइलाई जिल्लाका सबै विद्यालयको अभिलेख सङ्कलन गरी असार ३० भित्र सबै सामग्री बोर्डमा पठाउने समय दिइएको छ ।
यसपटक नतिजा प्रकाशनपश्चात् पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने तथा पूरक ग्रेड वृद्धि परीक्षा भने नहुने कार्यविधि तय गरेको जानकारी अधिकारीहरूले दिएका छन् । यसअघि सरकारले २०७६ सालको एसईई परीक्षा पुरानो परिपाटीबाट नलिने निर्णय गर्दै विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने निर्णय गरेको थियो तर कार्यविधि निर्माण नहुँदा यसको प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button