तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ कञ्चनपुरका ८ स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम

कञ्चनपुर । कञ्चनपुरका नौ वटा स्थानीय तहहरु मध्ये आठ ओटा स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट, नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका छन् । ती सबै स्थानीय तहले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको पाइन्छ भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि समेत बजेट विनियोजन गरेका छन् । यहाँका स्थानीय तहहरुले विषेशगरी स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पुर्वधार लगायतका योजना नीति तथा कार्यक्रममा समावेश गरेका छन् ।

आगामी अर्थिक वर्ष २०७७।०७८ का लागि बजेट, नीति तथा कार्यक्रम ल्याउने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिकाले यसअघि नै असार पहिलो साता आयोजित नगरसभाबाट १ अर्ब ४६ करोड बराबरको बजेट पारित गरिसकेको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभएको छ । त्यस्तै, बुधबार मात्रै कञ्चनपुरको माहाकाली नगरपालिका, वेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र र बेलडाँडी गाउँपालिका गरी सात स्थानीय तहहरुले नगर तथा गाउँ सभा शुरु गरेका छन् ।

महाकाली नगरपालिकाले ५४ करोड ७५ लाख बराबरको बजेट ल्याएको छ । महाकाली नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले कोरोना नियन्त्रण सहित स्वास्थ्य, कृषि र रोजगारीका कार्यक्रम सार्वजनिक गरिएको बताउनु भयो ।

वेदकोट नगरपालिकाको सातौँ नगर सभाबाट आगामी आर्थिक वर्षका लागि ७२ करोड ४० लाख बराबरको बजेट पारित गरिएको नगर प्रवक्ता नरेश बहादुर सिंहले बताउनु भएको छ । प्रवक्ता सिंहका अनुसार आगामी आर्थिक वर्षमा कोल्ड स्टोर सहित कोभिड १९ रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी, शुक्लाफाँटा नगरपालिकाले ६९ करोड ५ लाख बराबरको बजेट ल्याएको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगत बहादुर सिंहले बताउनु भयो । शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य तर्फ कोभिड १९ रोकथाम तथा नियन्त्रण संगै, रोजगारीका कार्यक्रम ल्याएको र दफावार छलफलमा रहेको बताइएको छ । कृष्णपुर नगरपालिकाले नगरसभामा ८८ करोड १३ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख कर्ण बहादुर हमालले स्पष्ट कार्यनीति र समन्वयात्मक कार्यशैलीले नगरलाई आगामी दिनमा उत्कृष्ट नगरको पहिचान दिलाउने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो । कृष्णपुरमा पनि कोभिड १९ रोकथाम एव नियन्त्रणकै योजनालाई मुख्य प्राथमिकता दिइएको छ ।

त्यसैगरी, पुर्नवास नगरपालिकाले ६७ करोड १० लाख बराबरको बजेट ल्याएको नगर उपप्रमुख शारदा शर्मा बिष्टले बताउनुभएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण सहित स्वास्थ्य, कृषिका साथै विदेशबाट आएका मानिसलाई स्वरोजगार बनाउने लगायतका विषय बजेटमा प्राथमिकताका साथ राखिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले बताउनु भएको छ । प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि थप छलफल गरी केही दिनमै पारित गरिने नगर प्रवक्ता भारमल सुनारले जानकारी दिनुभयो ।

त्यस्तै, लालझाडी गाउँपालिकाले ४९ करोड ७८ लाख बराबरको बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महराले जानकारी दिनुभएको छ । उहाँका अनुसार, दफाबार छलफल गरी बुधबार नै बजेट, नीति तथा कार्यक्रम पारित गरिएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले कोरोना रोकथाम सहित स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार निर्माण लगायतका विषयलाई विषेश जोड दिइएको बताउनुभएको छ ।

कञ्चनपुरका स्थानीय तहहरु मध्ये सबैभन्दा कम बजेट बेलडाँडी गाउँपालिकाले ल्याएको छ । बुधबारबाट शुरु गरिएको गाउँ सभाबाट ३६ करोड ६४ लाख बराबरको बजेट प्रस्तुत गरिएको बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले जानकारी दिनुभएको छ । बेलडाँडी गाउँपालिकाले समेत कोभिड १९ रोकथाम तथा नियन्त्रण सहित स्वास्थ्य, शिक्षा, कृषि तथा विकास निर्माण लगायतका विषय बजेटमा प्राथमिकताका साथ समावेश गरेको गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार, बुधबार प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम माथि थप छलफलका लागि केही जनप्रतिनिधिहरुले समय माग गर्नुभएकोले शुक्रबार पुनः बैठक बोलाइएको र सर्वसहमतिबाट पारित गरिने कार्ययोजना रहेको छ ।

कञ्चनपुरका आठ ओटा स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेपनि बेलौरी नगरपालिकाले भने असार १९ गतेका दिन नगरसभा गर्ने बताइएको छ । बुधबार बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले यही असार १९ गतेका दिन नगरसभा आयोजना गर्ने निर्णय गरेको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो । लगभग ७२ करोड हाराहारीको बजेट ल्याउने तयारी गरिएको भएपनि कोरोना भाइरसको संक्रमण रोकथाममा केन्द्रित भएकोले केही ढिलाइ भएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button