तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारको आरोपमा इनर्वा प्रहरी चौकीका तत्कालिन इन्चार्ज पूर्ण तामाङ सहित ५ प्रहरी विरुद्ध मुद्दा दायर

बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थाई प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङसहित ५ जना प्रहरी उपर घुस लिई भ्रष्टाचार गरेको आज विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।

आयोगले हुण्डी कारोवारीलाई नियन्त्रणमा लिई ७ लाख घुस खाएको आरोपमा बीरगंजको अस्थायी प्रहरी पोष्ट इनर्वामा कार्यरत तत्कालिन प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार विष्णु दयाल चौधरी, प्रहरी जवान अवधेश राय, प्रहरी जवान राजकुमार गुरुङ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बीरगंज भन्सार नजिकै रहेको अस्थाई प्रहरी पोष्ट, इनर्वामा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, बीरगञ्ज, पर्साका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राज कुमार गुरुङसँग मिलेर अपरिचित हुण्डी कारोवारीले साथमा लिई आएको अवैध २० लाख रुपैयाबाट ७ लाख रुपैया निकाली भागबण्डा गरी गायब गरेको र १३ लाख रुपैया जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि सो घटनाको अनुसन्धान हुदा उनिहरुले घुस लिएको प्रमाणित भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस÷रिसवत बापत लिएको रकम सात लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी पाउन र अनुसन्धानको क्रममा उल्लेखित आरोपीहरुबाट बरामद भई आएको ६ लाख ३५ हजार र नपुग रकम पैसठ्ठी हजार समेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम आरोपीहरुबाटै असुल गरी जफत हुन मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला जानकारी दिनुभयो ।

आयोगद्वारा विशेष अदालत, काठमाडौंमा दायर गरिएको आरोप–पत्र घटनाका प्रमुख मतियार रुपमा रहेका राजकुमार गुरुङलाई ७ लाख रुपैया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

यसैगरी अख्तियारले कावासोती नगरपालिका वडा नम्बर ५ बस्ने सोनाम तामाङले वयानका क्रममा प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरी उक्त कसुरको मतियार भएको देखिंदा निज सोनाम तामाङलाई समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुर गरेकोले कसुरदारलाई हुने सजायको आधा सजाय गरी पाउन मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button