तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा ३ वर्षका बालिका सहित १६ जनामा कोरोनाको संक्रमण

जनकपुरधाम । पछिल्लो २४ घण्टामा धनुषा जिल्लामा ९ जना नयाँ व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ । धनुषा जिल्लाको मुखियपट्टी मुसरनीया गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण भएको छ ।

सो गाउँपालिकाका १६, १७, २१, २३ तथा २५ वर्षका गरेर ५ जना पुरुषमा संक्रमण भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसै गरि धनुषाकै वटेश्वर गाउँपालिकामा पनि ४ जनामा कोरोना संक्रमण भएको छ ।

प्रादेशिक प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा वटेश्वरका १२ वर्षका वालक, १८, १९ तथा २१ वर्षको यूवामा पनि कोरोना भएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका उप सचिव तथा बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झा ले जानकारी दिनुभयो ।

यसै गरि महोत्तरी जिल्लामा पनि ५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको लोहारपट्टी नगरपालिकामा १६ वर्षका वालक तथा मनरा सिस्वा नगरपालिकाको २१, २४, २७ र ५२ वर्षका पुरुषमा कोरोनाको संक्रमण भएको छ । यसै गरि सिरहा जिल्लाको लहान नगपालिकामा ३ वर्षको वालिका र १७ वर्षका वालकमा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश नंं २ को ४ जिल्लामा थप भएका १६ जना नयाँ संक्रमित संगै प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ । जस्मा १ सय ९५ जना महिला तथा ३ हजार २१ जना पुरुष रहेका छन् । आज धनुषामा ८४ जना तथा पर्सा जिल्लामा ५७ जना गरेर कूल १ सय ४१ जनाको पि सि आर परीक्षणका लागि स्वाव संकलन भएको छ ।

हालसम्म प्रदेश नंं २ मा ४१ हजार २ सय ९२ जनाको स्वाव संकलन भएकोमा ५ हजार ५ सय १४ जनाको परिणामा आउन बाँकी रहेको छ । बाँकी पोजेटिभ बाहेक सवैको निगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद खनालले जानकारी दिनुभयो । यता आज मात्र कोरोना संक्रमण मुक्त भएर ३३ जना डिस्चार्ज भएको छ । यो संगै प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १ हजार २ सय ६७ पुगेको छ ।

यता क्वारेन्टाईनहरुमा वस्नेको संख्या घटेर अहिले ७ हजार ११ जनामा झरेको छ भने होम क्वारेन्टाईनमा जानेको संख्या बढ्दै गएको छ । होम क्वारेन्टाईनमा १७ हजार १ सय ८२ जना पुगेको छ भने आईसोलेशनमा आजसम्म वस्नेहरुको संख्या ७ सय ८४ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button