तपाईँ सुन्दै हुनुहुन्छः

५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिइने

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम ल्याएको छ ।

बुधबार आयोजित सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ देखि ५५ वर्ष उमेर पुरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुरा गरेका पत्रकारलाई मासिक दुई हजार प्रोत्साहन भत्ता उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको हो ।

पत्रकार महासंघको सदस्यता लिएर पत्रकारिता पेशासँगै अन्य पेशामा आवद्ध रहेका पत्रकारको हकमा भने यो व्यवस्था लागू नहुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । ‘पत्रकारको पेशागत सुरक्षाका लागि चर्चा गर्ने तर कार्यान्वयन नगर्ने’ राष्ट्रिय समस्याका बीचमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले स्थानीय सरकारका रुपमा पत्रकारमैत्री नीति तथा कार्यक्रम ल्याएको हो । प्रोत्साहन भत्ताको मात्रा क्रमशः वृद्धि गर्दै लैजान सकिने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

गाउँपालिकाले जिल्लामा क्रियासिल पत्रकारलाई मुटु, क्यान्सर, मष्तिष्कघात जस्ता गम्भीर प्रकृतिका रोग लागेको अवस्थामा उपचारमा लागेको २० प्रतिशत खर्च सहयोग गर्ने नीति तथा कार्यक्रम पनि ल्याएको छ । यस्तै, जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमको वृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पुरा गर्ने सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने, गाउँपालिकाको सुशासन अभिवृद्धिका लागि सूचनाको हक सम्वन्धी कानून कार्यान्वयनमा जोड दिने, गाउँपालिकाका हरेक सूचना घर–घरमा पु¥याउने, एफ.एम.रेडियो संञ्चालनका लागि अनुमति दिने, सामुदायिक संवाददाता उत्पादन गर्न पत्रकारिता प्रशिक्षण सञ्चालन गर्ने लगायतका बुँदा नीति तथा कार्यक्रममा उल्लेख छन् ।

पत्रकारको हितमा नीति तथा कार्यक्रम ल्याउन प¥यो भनेर मुलुकभर आवाज उठेको देखिन्छ । तर, त्यसको कार्यान्वयन भएको देखिन्न । कम्तीमा यसको सुरुवात हाम्रो ठाउँबाट गरौं भन्ने हाम्रो नीति हो,’ गाउँपालिका अध्यक्ष राईले भन्नुभयोे, ‘सूचना तथा सञ्चार माध्यमको दृष्टिकोणले नमूना गाउँपालिकाको रुपमा विकसित गर्ने लक्ष्य लिएका छौँ । यो स्थानीय सरकारको दायित्व पनि हो ।’

मिडियामैत्री नीति तथा कार्यक्रम ल्याएको भन्दै जिल्लाका पत्रकारले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको नीति तथा कार्यक्रमको स्वागत गरेका छन् । अन्य स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले समेत पत्रकारको हितमा नीति तथा कार्यक्रम ल्याउनुपर्ने पत्रकारको भनाई छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैयाँ बजेट प्रस्तुत गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button