तपाईँ सुन्दै हुनुहुन्छः

झापाको कनकाईमा पीसीआर ल्याब सञ्चालनका लागि दियो प्रदेश सरकारले अनुमति

भद्रपुर, झापा । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पीसीआर ल्याब सञ्चालनका लागि प्रदेश सरकारले अनुमति दिएको छ ।

एकका लागि एक अभियानको पूर्ण सहयोगमा स्थापना हुन लागेको ल्याबका विषयमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशेष चासो देखाउनु भएको छ ।

मन्त्री घिमिरेले खरिद प्रक्रिया र भन्सार छुटका लागि प्रदेश सरकारले जिम्मेवारी लिने बाचा गर्नुभएको छ ।

एकका लागि एक अभियानमार्फत झापामा स्थापना हुन लागेको पीसीआर ल्याबका लागि बुधवार झापाको कनकाईस्थित समर्पण भवनमा मन्त्री घिमिरेसँग महत्त्वपूर्ण छलफल भएको थियो ।

झापाका राजनीतिक दल, सहकारी अभियन्ता र साझेदार संस्थाबिच मन्त्री घिमिरेले समर्पण भवनमा ल्याब राख्न अनुमति दिनुभएको हो ।

मन्त्री घिमिरेले अभियानले हालसम्म गरेको कामको प्रशंसा गर्दै चाँडोभन्दा चाँडो पीसीआर मेसिन खरिद गर्न अभियान टोलीलाई आग्रह गर्नुभएको थियो ।

ल्याब स्थापनाका लागि अभियानले ८५ लाख रुपैयाँ सङ्कलन गरिसकेको छ ।

यसैबिच, अभियानले मेसिन तथा त्यसका लागि आवश्यक पर्ने फ्रिज लगायतका अन्य सामग्री खरिदको प्रक्रिया अघि बढाइसकेको छ ।

झापाका १५ वटा स्थानीय तह सहमत भए भविष्यमा सो ल्याब भएको भवनलाई सरुवा रोग अस्पतालको रूपमा विकास गर्ने अभियानको योजना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button