तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न रु दुई करोड छुट्याइएको उल्लेख छ । अपाङ्ग, असहाय, अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्नवर्गको उपचारको लागि प्रदान गर्दै आएको सुविधालाई निरन्तरता दिने व्यवस्था मिलाइएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताउनुभयो ।

सरकारले आव २०७७/७८ मा क्यान्सर, मुटु, मिर्गौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीजस्ता रोगबाट पीडित अति गरिब बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । केन्द्र सरकारसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला र मुटुरोगको विशिष्टिकृत उपचार सेवा प्रारम्भ गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको मन्त्री गुरुङले बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य तालीम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश क्षयरोग नियन्त्रण केन्द्रको सुदृढीकरण गर्न रु १० करोड २७ लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । नवलपुरको मध्यबिन्दु अस्पताल, कास्कीको मातृशिशु मितेरी अस्पताल तथा पर्वत, मनाङ र मुस्ताङ जिल्ला अस्पतालका भवन निर्माणकार्यलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

आयुर्वेद तथा प्राकृतिक चिकित्सालगायत वैकल्पिक चिकित्सा सेवालाई प्रवद्र्धन गर्नुका साथै जिल्ला स्वास्थ्य कार्यालयका नियमित कार्यक्रमलाई निरन्तरता दिन र समुदायस्तरमा स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन बजेट विनियोजन गरिएको मन्त्री गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button