तपाईँ सुन्दै हुनुहुन्छः

सम्पदा संरक्षण एवं पुनर्निर्माणका काम जारी

काठमाडौँ– कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा पनि ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको संरक्षण र पुनर्निर्माणका काम निरन्तर भइरहेका छन् ।

पुरातत्व विभागको चालू आर्थिक वर्षको कार्य प्रगति र आगामी वर्षको कार्ययोजनाका सम्बन्धमा प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा विभागले कोभिड–१९ का कारण पुरातात्विक सम्पदा संरक्षणका केही आयोजनाबाहेक अन्यमा निरन्तर काम भइरहेको बताएको छ ।

भूकम्पबाट ३१ जिल्लाका ९२० सम्पदा प्रभावित भएकामा हालसम्म ४१० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएका तथा बाँकी स्थानमा पनि काम भइरहेको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।

समितिका सभापति पवित्रा निरौला (खरेल)को अध्यक्षतामा भएको बैठकमा उहाँले आगामी आर्थिक वर्षका निम्ति पुनर्निर्माण प्राधिकरणबाट सम्पदा, स्मारकस्थलको पुनर्निर्माण एवं पुनस्र्थापनाका निम्ति रु एक अर्ब बजेट विनियोजन भएको जानकारी दिनुभयो । देशभरिका सम्पदा संरक्षणका निम्ति सरकारले रु ३८ करोड छुट्याएको बताउनुभयो ।

चालू आवका निम्ति प्राधिकरणले रु ९० करोड उपलब्ध गराएको थियो भने राज्यबाट पुरातात्विक सम्पदा संरक्षण आयोजना कार्यान्वयन गर्न रु ३८ करोड प्रदान गरिएको थियो । आगामी आवमा दुई सयभन्दा बढी सम्पदा–स्मारक मर्मतसम्भार एवं पुनर्निर्माण गर्ने योजना विभागले अघिसारेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button