तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुंगामा १५ प्रतिशत रोपाइँ

ओखलढुंगा– ओखलढुंगामा करिब १५ प्रतिशत धान रोपाइँ सकिएको छ । यस वर्ष असार सुरु भएसँगै मनसुन सकृय भएकाले मध्य असार सम्ममा १५ प्रतिशत धानखेती योग्य जमिनमा रोपाइँको काम भएको हो ।

विगतमा सिंचाईको सुविधा हुने क्षेत्रमा रोपाईको काम पहिला सुरु हुने भएपनि यसवर्ष आकाशबाट पानी परिरहेकाले पाखा बारिमा समेत किसानले धान रोप्न थालेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका अधिकृत हेमबहादुर आलेले बताउनुभयो । ‘विगतमा खडेरीले समस्या हुन्थ्यो । यो वर्ष बेलैमा पानी परेकाले पाखा बारिमा समेत आकाशेपानीबाट भल छोपेर किसानले धान रोपिरहेका छन् ।’

अधिकृत आलेले भन्नुभयो, ‘हामीलाई प्राप्त तथ्याङ्क अनुसार करिब १५ प्रतिशत रोपाइँको काम सकिएको छ ।’ जिल्लाको माथिल्लो क्षेत्रमा धमाधम रोपाइको काम भईरहेको र सिंचाइको सुविधा हुने खेतहरुमा मकै भाँच्ने काम भईरहेकाले केही समय पछि रोपाइँको काम सुरु हुने उहाँको भनाई छ ।

अघिल्ला वर्षहरुमा खडेरीको मार खेपेका किसानलाई यसवर्ष असारको सुरुवात देखि नै निरन्तर परेको वर्षाले राहत मिलेको छ ।
जिल्लामा करिब ६ हजार ६ सय ५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । गत वर्ष ढिलो मनसुन सुरु भएर कम पानी परेकाले करिब ३ हजार ५ सय ६५ हेक्टर जमिनमा मात्रै रोपाइँ भएको थियो । यसवर्ष सबै जमिनमा रोपाइँको काम हुने कृषि ज्ञान केन्द्र ओखलढुंगाले अनुमान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button