तपाईँ सुन्दै हुनुहुन्छः

पूरा भएन चावहिल उत्तरपूर्वका सडक

काठमाडौँ – वर्षा लागेसँगै चावहिलबाट उत्तरपूर्व लाग्ने सडकमा पानीको पोखरी जमेपछि आवागमनमा समस्या हुन थालेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको छ वर्ष वितिसक्दा पनि काम पूरा हुन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक यातायात बन्द रहेकाले बाइकमा हिँड्दा हिलाम्य हुन बाध्य हुनुपरेको रामचन्द्र पुडासैनीले गुनासो गर्नुभयो ।

सडककै कारण घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्यमा यात्रा गर्न बाध्य हुनुपरेको उपभोक्ताको गुनासो छ । तीन तहको सरकार बनेको तीन वर्ष पूरा भएपनि राजधानीको मुख्य भागका समस्या समाधान हुन नसकेको जोरपाटीका मङ्गले तामाङ बताउनुहुन्छ ।

चावहिल–बौद्ध–जोरपाटीको सडकबीच भागमा कालोपत्र सकिएको छ । दायाँबायाँ ढल विच्छ्याउने लगायतका काम भने सकिएको छैन । जोरपाटीबाट साँखुतिरको सडकका आधादर्जन स्थानमा सडक सीमाको विवाद रहेको आयोजनाले जनाएको छ ।

यस्तै समस्या जोरपाटीबाट सुन्दरीजलतिरको सडकमा पनि छ । समस्या समाधानका लागि यी सडकमा पर्ने तीनवटा स्थानीय तहले समेत काम गर्न नसकेको स्थानीयवासीको दुःखेसो छ । यस क्षेत्रमा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका पर्छन् ।

सडक निर्माणमा आइपरेका विभिन्न समस्याका कारण चावहिलबाट उत्तरपूर्व जाने सडक पूरा हुन नसकेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरुप्रसाद अधिकारी लामो समयपछि बिजुली पोलको समस्या समाधान भए पनि विस्तार गर्ने स्थानका मानिस अदालतमा मुद्दा लिएर गएकाले काम गर्न नसकिएको बताउनुहुन्छ । विवादका कारण ढिला भएको सडक बन्दाबन्दी शुरु भएपछि भने निर्माण सामग्री नपाएरै काम हुन नसकेको उहाँले जानकारी गराउनुभयो ।

उत्तरपूर्व आउन वैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको चुच्चेपाटी–तीनचुले–आरुबारी हुँदै गोकर्णेश्वर महादेव मन्दिर निस्कने बाटोसमेत जीर्ण छ । मित्रपार्कबाट गुह्येश्वरी हुँदै वाग्मती नदी किनारबाट जोरपाटी नारायणटार निस्कने सडकको अवस्था पनि उस्तै छ । यस क्षेत्रमा गुड्ने विभिन्न प्रयोजनका पानीको ट्याङ्करका कारणसमेत सडक विग्रने गरेको छ ।

वर्षा सकिएपछि जहाँ जहाँ जति जति सडक उपलब्ध हुन्छ, त्यतिमै कालोपत्र गर्ने गरी तयारी भइरहेको छ । उपलब्ध सडकमा मङ्सिरसम्ममा कालोपत्र गरिसक्ने आयोजनाको लक्ष्य छ । आयोजनाले सडक बनाउने स्थान खाली नभइ ठेक्का गरेका कारण राम्रो भएका स्थानको सडकसमेत निर्माण शुरु भएपछि बिग्रिएको छ । सडकको दूरावस्थाका कारण सवारी दुर्घटनासमेत बढ्ने गरेको छ । सडकमा बनेको हिलो पोखरीमा बाइक पल्टने गरेका छन् । सवारीले हिलो छ्यापेर पैदलयात्रीलाई सास्ती हुने गरेको छ । – रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button