तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली कागजात बनाएर मोटरसाइकल किनबेच गर्ने १२ जनाको गिरोह पक्राउ

कञ्चनपुर । नक्कली कागजात बनाएर मोटरसाइकल किनबेच गर्ने १२ जनाको गिरोहलाई पक्राउ गरी कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका मध्ये यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत दुई जना कर्मचारी जितेन्द्र राना र गणेश भट्टराई समेत रहेका छन् ।

त्यस्तै, अन्य दश जना मध्ये कञ्चनपुरको लाल झाडी गाउँपालिका वडा नम्बर ४ बस्ने बहादुर राना र राम दयाल राना, लाल झाडी गाउँपालिका वडा नम्बर १ बस्ने राम निवास राना, वेद कोट नगरपालिका वडा नम्बर ६ बस्ने राजकुमार राना, हरेन्द्र राना, सुवेश राना, रामलाल राना, प्रदीप राना र लक्ष्मी राना, शुक्लाफाँटा नगरपालिका घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बस्ने श्याम रानालाई समेत कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ ।

नक्कली कागजात बनाएर मोटरसाइकल किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा लामो समय पहिलेदेखि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभएको छ ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका आठ ओटा मोटरसाइकल सहित नक्कली ब्लु-बुकहरू बरामद गरेको छ ।

उक्त कार्यमा अन्य व्यक्तिहरू समेत संलग्न भएको हुनसक्ने भएकोले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मरासिनीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button