तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सलह आतङ्क : चेपाङ गाउँ सिद्धिको चिउरी र मकै बाली सखाप

चितवन । पूर्बी चितवनको कालिका १०, सिद्धीको जिङ्लाओ गाउँमा सलह किराले मकै बाली र चिउरी सखाप पारेको छ । अस्तीे आइतबार दिउँसो फाट्टफुट्ट देखिएको सलह किरा हिजो सोमबार हुलका हुल आएर जिङ्लाओ गाउँभर कै मकै बाली र चिउरीको बोट सखाप पारेको कालिका १० का वडा सदस्य महेन्द्र चेपाङले जानकारी दिनु भयो ।

चितवनको पहाडी सो गाउँमा मकै भर्खर पसाउन लागेको थियो भने चिउरी पनि फलेर खाने बेला हुन लागेको थियो । चेपाङ समुदायको चिउरी महत्त्वपूर्ण फल हो ।

चिउरीको फल खाएर भित्रको दानालाई पेलेर घ्यू निकाली उनीहरुले तेलको रूपमा प्रयोग गर्ने गरेको चितवनका चेपाङ अभियन्ता केपी किरण शर्माले बताउनु भयो । बिपन्न बस्तीका चेपाङलाई सलह किराको कारण भोकमरी झन बढेर जाने उहाँले बताउनु भयो ।

सलह किरा हिजो कालिका कै वडा नं ३ पदमपुर र भरतपुरमा पनि देखिएको थियो । पदमपुरमा गाउलेले टिन ठटाएर जंगलतर्फ धपाएका थिए ।

नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गाबाट करिब दुई किलोमिटर माथिको पहाडी गाउँ भरतपुर–२९ को स्याउलीमा पनि आजै ठुलो संख्यामा सलह देखापरेको र सो गाउँको मकै र अन्य बालीहरु सखाप पारेको छ । शनिबार खैरहनी नगर पालिकाको विभिन्न स्थानमा पनि सलह देखिएको थियो ।

हिजो साँझ कालिकाको खोलेसिमल बजार नजिकैबाट पनि हुलका हुल सलह किरा उडदै पश्चिमतर्फ लागेको स्थानियहरुले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button