तपाईँ सुन्दै हुनुहुन्छः

रोकथाममा प्रभावकारी काम गर्न ध्यानाकर्षण

काठमाडौँ– नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर सो ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टिन व्यस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन, स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शि बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ ।

काँग्रेसले निरन्तर आफ्नो सहयोग, सञ्चार माध्यमको खवरदारी, नागरिक समाज र आमजनताको साथले सिर्जना गरेको अनुकूलताको बाबजुद पनि सरकारको कमजोरीका कारण कोभिड–१९ सङ्क्रमण वृद्धि हँुदै जाँदा जनजीवन कष्टकर हुँदै गएको आरोप लगाएको छ । भेटमा मन्त्री ढकालले सरकारले कोभिड–१९को सङ्क्रमण रोकथाम र उपचारमा सक्दो प्रयास गरिरहेको, विदेशबाट आउने नेपालीको सङ्ख्या विस्तारै कम हुँदा क्वारेन्टिन व्यवस्थापनको चुनौती पनि कम हुँदै गएको र आरडीटी परीक्षणलाई निरुत्साहित गर्दै लगिएको बताउनुभएको थियो ।

साथै उहाँले पीसीआर परीक्षण हाल दैनिक आठ हजार क्षमता भएको र केही दिनमा दैनिक १० हजार गरिने जानकारी गराउनुभयो । सहमहामन्त्री डा महत नेतृत्वको प्रतिनिधिमण्डलमा नेताहरु एनपी साउद, चन्द्र भण्डारी, गगनकुमार थापा, मोहनबहादुर बस्नेत, पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी हुनुहुन्थ्यो । प्रतिनिधिमण्डलले आजै अपरान्ह दुई बजे अर्थमन्त्रीसँग कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा छलफल गर्न भेट्ने कार्यक्रम रहेको जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button