तपाईँ सुन्दै हुनुहुन्छः

ईन्द्रावतीमा दीर्घकालीन खानेपानी सुविधा

मेलम्ची । ईन्द्रावती गाउँपालिकामा खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुने भएको छ । ईन्द्रावती वडा नं. ४ देखि १२ सम्मका सम्पूर्ण बस्ती समेटेर खानेपानी वितरण गर्न ईन्द्रावती बृहत् खानेपानी आयोजनाका लागि रु. ४९ करोड ४१ लाख ९२ हजार ८ सय १४ रुपैंयाको लागत इष्टिमेट तयार गरिएको थियो । सोही लागत इष्टिमेटको आधारमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाले टेण्डर आह्वान गरेको छ ।

पूर्व कानुन मन्त्री एवम् यही क्षेत्रका संघीय सांसद शेरबहादुर तामाङका अनुसार माधवकुमार नेपालको प्रधानमन्त्रीत्व कालमा ईन्द्रावती र साँगाचोक क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्रको रुपमा पहिचान गरिएको थियो । सो क्षेत्रलाई आयोजना सम्पन्न गर्न योजनामा समावेश गर्न तत्कालीन सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएका वर्तमान सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहल र आफ्नो निरन्तरको प्रयासबाट आयोजना स्वीकृत गर्न सफल भएको बताउनु भयो ।

सो आयोजनाको जिल्ला खानेपानी डिभिजन कार्यालय सिन्धुपाल्चोक र ईन्द्रावती गाउँपालिकाको संयुक्त लगानीमा सर्भे गरिएको पालिका प्रमुख वंशलाल तामाङले जानकारी दिनुभयो । सो आयोजनाको वडा स्तरमा ट्याँकी स्तरको समितिहरु समेत बनिसकेको गाउँपालिका श्रोतले जानकारी गराएको छ । प्रारम्भिक सर्भे गर्दा गाउँपालिकाका वडा नं. १, २ र ३ पुरै र वडा नम्बर ६ को तिनघरे, बसन्तपुर, वितलब र तीनढुंगेका ३०० घरधुरी, वडा नं ८ सुन्दरीपुरका ३५ घरधुरी, वडा नं ९ सिपाटार तल्लो तामाङ बस्ती ७५ घरधुरी, वडा नं १० झोलुङ्गे ९२, मरनडाँडा मसार ३५ घरधुरी र वडा नं ११ बिसदेउटार ६३ घरधुरी छुट हुन गएको थियो ।

माननीय तामाङको निर्देशन पश्चात संघीय खनेपानी तथा ढल ब्यबस्थापन आयोजना, हेटौंडाले गत आ.व.मा नै छुट भएको वडा नं ६, ८, ९, १० र ११ का करिब ६०० घरधुरीको पुन सर्भे गरी समेटि सकिएको संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना, हेटौंडाका कामु आयोजना प्रमुख मोहनलाल जैसीले बताउनु भयो ।

हाल छुट हुन गएको वडा नं १,२ र ३ लाई पनि यस आयोजनामा समेट्नुपर्ने स्थानीयको जोडदार माग गाउँपालिकामा पेस भएको छ । छुट हुन गएको वडाहरु मध्ये वडा नं २ र ३ को लागी बसेरी पाछाम खोला कोटडांडा खानेपानी आयोजना क्रमागत रुपमा सम्पन्न गर्न केन्द्रीय बजेटमा समेटी सकिएको र आ.व. २०७७/७८ का लागि रु. ५० लाख बिनियोजन समेत गरि सकेको माननीय सांसद तामाङले बताउनु भयो । त्यसैगरी वार्ड नं १ को सवालमा आयोजना सम्पन्न गर्नु अगावै एक घर एक धारा हुनेगरी नयाँ योजना वा सोही आयोजनामा समावेस गरेर खानेपानी पु‍¥याउन सकिने जिल्ला खानेपानी कार्यालय, सिन्धुपाल्चोकका कार्यालय प्रमुख समेत रहिसक्नु भएका संघीय खानेपानी तथा ढल ब्यवस्थापन विभागका योजना शाखा प्रमुख सि.डि.ई. लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो ।

सबै छुट भएका वडाहरु र बस्तीहरु समेटेर आयोजना सम्पन्न गर्दा सिंङ्गै ईन्द्रावती गाउँपालिकाको खानेपानी समस्याको दीर्घकालीन समाधान हुने नेकपाका जिल्ला अध्यक्ष तथा सो आयोजनाका उपभोक्ता समेत रहेका झम्क नेपालले बताउनुभयो ।

साँगाचोक क्षेत्रमा सञ्चालित अर्को ३४ करोडको हर्रै टुनिबोटे साँगाचोक खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको सांसद तामाङले जानकारी दिनु भएको छ । कोरोना संक्रमणबाट सिर्जित जटिल अपरिस्थितिमा समेत सांसद तामाङको विशेष पहलमा खानेपानी मन्त्रालयद्वारा विनियोजित रु. ६ करोड रकमका विभिन्न ४९ वटा साना तथा मझौला आयोजनाहरुमध्ये करिब ४० वटा आयोजनाहरुका सम्झैता भई हाल कार्यान्वयनको चरणमा रहेको र जिल्लाका दुबै क्षेत्रका अन्य योजनाहरुको डिपिआर समेत भैरहेको सांसद तामाङका स्वकीय सचिव निर्मल बञ्जाराले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button