तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य कम्पनीको अनलाइन होम डेलिभरी सेवा शुरु

 
सुर्खेत । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा शुरु गरेको छ । बन्दाबन्दीको अवधिमा उपभोक्तासँग सुर्खेत उपत्यकाभित्र डेलिभरी चार्ज नलिने गरि अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा शुरु गरेको हो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आज (मंगलबार) वीरेन्द्रनगरमा खाद्यान्न होम डेलिभरी अनलाईन सेवा शुभारम्भ गर्दे समय सापेक्ष वर्तमान परिस्थितिमा कम्पनीको भूमिकाको महत्व थप बढेको बताउनु भयो । उहाँले बन्दाबन्दी अवधिमा काठमाडौंपछि सुर्खेतमा कम्पनीले अनलाईन खाद्यान्न होम डेलिभरी सेवा सञ्चालनमा ल्याएर उपभोक्तालाई सहजता दिएको प्रति धन्यवाद व्यक्त गर्नु भयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीका नायव महाप्रबन्धक मणिराज खनालले अनलाईन खाद्यान्न होम डेलिभरी सेवाले उपभोक्ताको घरसम्मै खाद्यान्न पु¥याउने कार्यले कम्पनीको कार्यालयमा खाद्यान्न खरिदका लागि लाग्ने भिड कम हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले सरकारी कम्पनीहरुले अनलाइन अर्डर लिएर उपभोक्ताको घरसम्म खाद्य सामग्री पु¥याउन लागेको कर्णालीमा यो नै पहिलोपटक भएको बताउनु भयो ।

कम्पनीले लकडाउनलाई लक्षित गरी अनलाइन सेवा मार्फत विक्री गरिने खाद्यान्नको मूल्यमा १० प्रतिशत छुट दिएको छ । घरमै खाद्यान्न पाउन नेपालफुड डटकमबाट कम्तीमा १४ सयदेखि बढीमा ५ हजार रुपैयाँ सम्मको सामान खरिद गर्नुपर्ने प्रावधान राखिएको छ । कम्पनीले हाललाई चामल, कर्णालीको सिमी र फापर बिक्रीका लागि उपलब्ध छ ।

अनलाईन शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्य, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेललगायतले अनलाईन खाद्यान्न डेलिभरी सेवाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button