तपाईँ सुन्दै हुनुहुन्छः

बेलौरी सहित देशभरका सात वटा पालिका युवा मैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रममा छनौट

कञ्चनपुर । राष्ट्रिय युवा परिषद्ले देशभरका स्थानीय तहहरुमध्ये सातवटै प्रदेशबाट एकएक स्थानीय तहलाई युवा मैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रममा छनौट गरेको छ । राष्ट्रिय युवा परिषद्को चालु आर्थिक वर्षको युवा मैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्तर्गत युवा मैत्री स्थानीय तह विकासका लागि प्रोत्साहन कार्यविधि अनुसार देशभरका सातवटै प्रदेशबाट उच्चतम अंक प्राप्त गर्ने एकएक वटा पालिकाहरुलाई छनौट गरिएको राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख डा.बाबुराम ढुंगानाले जानकारी दिनुभएको छ । उहाँका अनुसार, छनौट भएका स्थानीय तहहरुलाई युवा लक्षित कार्यक्रम सञ्चालनका लागि प्रति पालिका पाँच लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइने छ ।

परिषद्ले जारी गरेको सूचनाको म्याद भित्र सूचकहरुमा आधारित रही स्वमूल्यांकन फाराम तथा विवरण पेश गरेका पालिकाहरु मध्ये सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुरको बेलौरी नगरपालिका छनौट भएको छ । त्यस्तै, कर्णाली प्रदेशबाट दैलेखको महाँवु गाउँपालिका, प्रदेश नम्बर ५ बाट दाङको तुलसीपुर उपमहानगरपालिका, गण्डकी प्रदेशबाट कास्कीको रुपा गाउँपालिका, बाग्मती प्रदेशबाट चितवनको खैरहनी नगरपालिका छनौट भएका छन् । त्यसैगरी, प्रदेश नम्बर २ बाट महोत्तरीको बर्दिवास नगरपालिका र प्रदेश नम्बर १ बाट उदयपुरको चाँदण्डीगढी नगरपालिका छनौट भएको राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख डा. ढुंगानाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button