तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा पनि देखियो सलह किरा

बैतडी । बैतडीको पाटनका विभिन्न क्षेत्रमा सलह किरा देखिएको छ । केही दिन अघि नेपाल भित्रिएको सलह किरा पहाडी क्षेत्रमा पनि उक्लिएको हो ।

मङ्गलवार पाटन नगरपालिका वडा नं १० को ठाँटा सलह किरा देखिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले पुष्टि गर्नुभएको छ ।

पाटन नगरपालिकाका केही क्षेत्रमा सलह किरा देखियो भनेर किसानहरूले खबर गरेपछि फिल्डमा जाँदा सलह किरा भेटिएको उहाँले बताउनुभयो । अहिले धेरै ठुलो झुण्ड नभए पनि एक दुई सयको झुण्ड देखा परेको उहाँले बताउनुभयो ।

पाटन नगरपालिकाको वडा नं १ मा पनि सलह देखिएको वडा नं १ का वडा अध्यक्ष गणेशदत्त भट्टराईले बताउनुभयो ।

फेद कटुवा किरा र फौजी किराको प्रकोप झेलिरहेका बैतडीका विभिन्न ठाउँका किसानहरू सलह किरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् । फेद कटुवा किराले मकै बाली नष्ट गरेपछि दोस्रो पटक लगाएको मकैमा सलहको समेत प्रकोप देखिन थालेपछि अनिकाल हुने चिन्ता थपिएको किसान केशवराज भट्टले बताउनुभयो ।

बैतडीमा सलहको ठुलो झुण्ड नपुगेकाले बालीनालीमा त्यति क्षति पुर्‍याउन नसक्ने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख अवस्थीले बताउनुभयो ।

बारीमा सलह देखा परेमा ठुलो आवाजमा थाल बजाउनुपर्ने, बाजा बजाउनुपर्ने र राती सलह बसेको ठाउँमा विषादी छर्कने सल्लाह दिएको कृषि शाखा प्रमुख अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button