तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले समयमै रोपाइँ

राँझा– वर्षा अनुकूल भएपछि यसवर्ष बाँकेमा असार महिनामै धान रोपाइँ सकिने भएको छ । आकाशे पानीको भरपर्ने बाँकेका अधिकांश किसानले यो वर्ष पानी परिरहेका कारण समयमै धान रोप्न पाएका हुन । बाँकेमा हालसम्म करिब ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।

विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यो वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिने भएको उहाँले बताउनुभयो । जिल्लामा धानखेती हुने ३६ हजार ५०० हेक्टरमध्ये ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा यसवर्ष दोब्बर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ । हरेक दिन कम्तीमा पनि पाँच प्रतिशतका दरले रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले जानकारी दिनुभयो । जानकी, खजुरा, राप्ती सोनारी र बैजनाथ गाउँपालिका क्षेत्रमा अन्यत्र भन्दा बढी रोपाइँ भएको उहाँको भनाइ छ । बाँकेका किसानले यसवर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गरेका छन् । जानकी गाउँपालिका ५ बेलहरीका किसान सुरेश अहिरले यो वर्ष आकाशे पानी परिरहेका कारण बेलैमा धान रोपाइँ गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

आफ्नो करिब चार बिगाह खेतमा धान रोपेर सकिएको बताउँदै किसान अहिरले बेलहरी गाउँका सबैजसो किसानले धान रोपेर सकिसकेको जानकारी दिनुभयो । बाँकेको जानकी गाउँपालिकामा ७० प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताउनुभयो । बाँकेमा धानखेती हुने ३६ हजार ५०० हेक्टर जमिनमध्ये करिब १३ हजार ७०० अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान वर्षेनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । यो वर्ष बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले जेठको अन्तिमबाटै रासायनिक मल बिक्री वितरण शुरु गरेका कारण किसानलाई सहज भएको छ । युरिया मलका लागि वर्षेनि सास्ती व्यहोर्न बाध्य बाँकेका किसानलाई यसवर्ष कष्ट व्यहोर्न नदिन पहल गरिएको जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बताउनुभयो ।

प्यूठानमा ९५ प्रतिशत रोपाइँ

प्यूठानमा हालसम्म ९५ प्रतिशत धान रोपाइँ सकिएको छ । समयमा पानी परेपछि जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खेतीयोग्य फाँटमा धान रोपिएको हो । कोरोना सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले पनि किसानले यसवर्ष समयमै धान रोपेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले बताउनुभयो ।

सिँचाइ कुलो र आकाशे पानीको भरमा लगाइने खेतमा समयमै पानी पर्दा रोपाइँ छिटो सकिएको हो । उहाँले भन्नुभयो,–“जिल्लामा छिटफुट बाहेक अन्य सबै ठाउँमा धान रोपाइँ भइसकेको छ । ” जिल्लामा यस वर्ष राधा ७, राधा ९, राधा १४, सावित्रीलगायतका जातका धान किसानले रोपेका छन् । अघिल्लो वर्षको तुलनामा जिल्लामा यस वर्ष धानखेती गर्ने क्षेत्रफलमा वृद्धि भएको अनुमान गरिएको छ । अघिल्लो वर्ष ६ हजार ५२५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो भने यस वर्ष ६ हजार ५५० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि अर्थविज्ञ श्रेष्ठले बताउनुभयो ।

अघिल्ला वर्षमा बाँझा छाडिएका खेतमा यस वर्ष रोपाइँ गरिएको छ । कोरोना सङ्क्रमणका कारण भारत, तेस्रोमूलुक र नेपालका विभिन्न स्थानबाट फर्किएका युवाले बाँझो जमिनमा पनि धान रोपेको पाइएको श्रेष्ठले बताउनुभयो । रोपण क्षेत्रफल बढेसँगै प्यूठानमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button