तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा वैकल्पिक माध्यमबाट सिकाइको तयारी

अछाम – अछाममा वैकल्पिक माध्यमबाट सिकाइको तयारी भैरहेकाे छ । जिल्लाको मंगलसैन नगरपालिकाले वैकल्पिक पठनपाठनका विषयमा सरोकारवालासँग छलफल गरी सो कार्यलाई अघि बढाइएको छ ।

यसैबिच मंगलसैन नगरपालिका ६ र ७ का प्रधानाध्यापकसँग पनि छलफल गरी वैकल्पिक सिकाई अघि बढाउन सहमति भएको छ । त्यस क्रममा बोल्दै मंगलसैन नगरपालिका प्रमुख पदम बाेहोराले वैकल्पिक माध्यमबाट सिकाई कार्य अघि बढाउनेतर्फ अग्रसर हुनुपर्ने बेला आएको बताउनुभएको छ ।

कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय बन्द रहेका र पठनपाठन कार्य समेत अवरुद्ध भएकोले अब वैकल्पिक माध्यमबाट सिकाई लाई अगाडि बढाउनेतर्फ सोच्नुपर्ने बेला आएको बताउनु भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई तथा मंललसैन नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको बैठकमा बोल्दै उहाँले कोरोनाको प्रभाव अझै लामो समयसम्म रहने देखिएकाले शिक्षा क्षेत्रलाई अलपत्र पार्न नहुने र कुनै न कुनै वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ कार्यलाई अघि बढाउनुपर्ने बताउनुभएको हो ।

गङ्गा माविका सहायक प्रधानाध्यापक सेतीराम भण्डारीको अध्यक्षतामा भएको बैठकमा विद्यालय वैकल्पिक शिक्षा अघि बढाउने निर्णय समेत भएको छ । जस अनुसार जोखिम न्यून भएका विद्यालयमा एउटा वा दुइटा कक्षालाई एक दिन बोलाएर आवश्यक जानकारी दिने, कोरोनाबारे सचेतता प्रदान गर्ने, गृहकार्य दिने, सिकाइको वातावरण प्रदान गर्ने, अभिभावकलाई पनि सिकाइको वातावरण प्रदान गर्न अभिप्रेरित गर्ने, जोखिम भएका विद्यालयमा टोल शिक्षा तथा गृह कक्षा सञ्चालन गर्ने, विद्यालय बाहिर रहेका शिक्षकलाई बोलाइ पठनपाठन कार्यमा लगाउने, शिक्षक न्यून भएका विद्यालयमा नगरको समन्वयमा स्वयंसेवक शिक्षकबाट सिकाइ गराउने लगायतका निर्णय गरिएको छ ।

यस्तै छिटोभन्दा छिटो पाठ्यपुस्तक तथा छात्रवृत्ति वितरण गर्ने, विद्यालयको वार्षिक कार्य योजना तयार गर्ने लगायतका कार्य गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा मंगलसैन नगरपालिका शिक्षा शाखा प्रमुख बृकेश बोगटीले नगरका सबै वडामा यस्तै छलफल गरी सिकाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने निर्णय गरिने बताउनुभयो । बैठकमा वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले सुरक्षित तरिकाले सिकाई कार्य अघि बढाउनुपर्ने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाईका विद्यालय निरीक्षक अम्बादत्त भट्ट, प्राविधिक सहायक दिपेन्द्र विष्टले बैठकको उद्देश्य बारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button