तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका सबै तहमा देखियो सलह किरा

सल्यान । सल्यानका सबै स्थानीय तहमा सलह किरा देखिएको छ । केही दिन अघि नेपालमा प्रवेश गरेको सलह किरा तराई हुँदै पहाडी जिल्लामा पनि देखिएको हो ।

कपुरकोट गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, कालीमाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, र त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा सलह किरा देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

मङ्गलवार साँझबाट सल्यानमा सलह किरा देखिएकाले क्षतिको यकिन नभएको कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्यले बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानबाट किसानहरूले सलह किरा देखिएको खबर पश्चात् फिल्डमा गई अनुगमन गर्दा सलह भएको पुष्टि भएको आचार्यको भनाई छ । उहाँले भन्नुभयो, ‘धेरै ठुलो झुन्ड नभए पनि एक हजारसम्मको झुन्ड पाइएको छ ।’

सलह किराले दिउँसो मात्र क्षति गर्ने भएकाले आगोको धुवा निकाल्न, ठुलो आवाज आउने भाँडा बजाउन र राती सम्भव भएसम्म विषादी प्रयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी बारीमा आगो बाल्नुका साथै ठुलो आवाज निकाल्ने भाँडाकुँडा ठटाएर धपाइरहेका छन् । ठुलो झुन्डले मकै बाली लगायत अन्य बालीनालीमा क्षति गर्न थालेपछि स्थानीयहरूले बारीमा आगो बालेर धपाइरहेको छत्रेश्वरी गाउँपालिका वडा न ४ का वडाध्यक्ष नेव बहादुर खड्काले बताउनुभयो ।

फेद कटुवा किरा र फौजी किराको प्रकोप झेलिरहेका सल्यानका किसानहरू सलह किरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button