२०७८ साल जेठ ४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो

राजेन्द्रप्रसाद पनेरु २०७७ असार १८ गते ११:१६

कञ्चनपुर। सडक छेउमा बसेर जुत्ता सिउने काम गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ । जुत्ताचप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई साँझ–बिहानको छाक टार्न मुस्किल हुन थालेको हो । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सार्की समुदायको रोजागरी खोसिएको छ ।

“बन्दाबन्दी भएपछि केही दिन नगरपालिका कार्यालयले उपलब्ध गराएको राहत सामग्रीले साँझ–बिहानको खानाको जोहो गर्न सकियो”, झलारी बजारको पूर्वपश्चिम राजमार्गको छेउमा बसेर जुत्ता सिउने काम गर्दै आउनुभएका धनबहादुर सार्कीले भन्नुभयो, “राहत सामग्री सकिएपछि पुनः राहत माग्न नगरपालिका पुगे पनि पाइएन ।”

एकपटक पाइसकेकालाई नदिइने भनेपछि रित्तो हात घर फर्केको र केही दिन भोकै परिवारका साथ बस्नुपरेको उहाँले बताउनुभयो । “छिमेकीलाई दया जाग्यो । कर्जाका रूपमा रकम पाएँ । कर्जा पाएकै रकमले हालसम्म साँझ–बिहानको छाक टरेको छ”, उहाँले भनुभयो । कर्जाको रकमले खरिद गरेर ल्याएको चामल र दाल पेटभरि खानसमेत नपाइएको उहाँले बताउनुभयो । बन्दाबन्दी लम्बिए खान नपाइने डरले जीवन बचाउनका लागि मात्रै खाना खान थालेको उहाँको भनाइ छ ।

बन्दाबन्दी खुकुलो भएपछि पुनः सडक छेउमा जोखिम मोल्दै सार्की पुरानै पेशामा फर्केका छन् । सडकमा आवतजावत निकै कम भएकाले दैनिक रु २० देखि ५० सम्म मात्रै कमाइ हुन थालेको उहाँले बताउनुभयो । सहज जीवनयापनको आशामा पहाडबाट तराई झरेपछि तीन दशकदेखि धनबहादुरले सडक छेउमा जुत्ता सिउँदै आउनुभएको छ । बन्दाबन्दीको कार्यअघि उहाँले दैनिक जुत्ताचप्पल सिउने काम गरेर दैनिक रु ३०० देखि ५०० सम्म कमाउँदै आउनुभएको थियो । सो कमाइबाट परिवारको साँझ–बिहानको छाक टार्न निकै सहज थियो ।

वर्षौँदेखि सडकपेटीमै बसेर जुत्ता सिउँदै आएका ६७ वर्षीय धर्मे सार्कीलाई समेत परिवारका लागि खाना खर्च जुटाउन निकै धौधौ परेको छ । भारतमा कमाउन गएका छोराहरु काम नपाउँदै बन्दाबन्दी भएपछि घर फिर्ता भएका छन् । भारतमा कमाउन गएका छोराहरु एक सुको पैसासमेत नलिई घर फिर्ता भएका छन् ।

“सडकपेटीमा जुत्ता सिउने काम गरेर आउने रकमसमेत बन्दाबन्दीका कारण पाउन सकिएको छैन”, धर्मेले भन्नुभयो, “छ जनाको परिवार पाल्नका लागि निकै समस्या आइलागेको छ । मजदुरी खोज्दै आए पनि पाइएको छैन । भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । पूरै जीवनमा यस्तो समस्या कहिल्यै व्यहोर्नुपरेन ।”

जुत्ता बनाउने परम्परागत सीपसमेत सार्की समुदायसँग छ । अर्थाभावले पुर्खौँदेखिको पेशालाई सार्की समुदायले अगाडि बढाउन नसक्दा पुराना जुत्ताचप्पल सिउने कार्य गरेर जीविका चलाउन बाध्य भएका छन् । “सडकमा बसेर जुत्ता सिउने रहर हामीलाई पनि थिएन”, उहाँले भन्नुभयो, “लालाबाला पाल्नैप¥यो, रोजगारी अरु पाएनौँ बाध्यताले सडकमै बस्ने बनायो ।”

सडकपेटीमै डेढ दशकदेखि जुत्ताचप्पल सिउँदै आएका रमेश सार्कीले परम्परागत सीप भनेकै यही भएकाले अन्य कार्य गर्न नसकिएको बताउनुभयो । “पुर्खाले सिकाएको सीप भनेको जुत्ता बनाउने नै हो”, उहाँले भन्नुभयो, “पुस्तौँदेखि त्यो सीप नयाँपुस्तामा हस्तान्तरण हँुदै आएको छ । अन्य कार्य सोचेनाँै । पूँजी अभावले पुरानो सीपलाई आधुनिक बनाउन नसक्दा जीवन निर्वाह गर्नसमेत मुस्किल भएको छ ।” परम्परागतरूपमा जुत्ता बनाउने सार्की समुदायले छालाको अभावमा पेशालाई छाडनुपरेको बताएका छन् । “बुवाको आधा दिनसम्म जुत्ता बनाउने कार्य चल्दै आएको थियो”, कमले सार्कीले भन्नुभयो, “वन क्षेत्रमा चित्तल, जरायो, घोरललगायतको शिकार खेल्न बन्देज गरिएसँगै छाला पाउन सकेनौँ । विस्तारै पेशा छाडनुप¥यो ।”

पहाडमा परम्परागत पेशाले जीविका चलाउन नसकेपछि परिवार पाल्नकै लागि तराई झरेको उहाँको भनाइ थियो । उहाँका अनुसार बास बस्नका लागि थोरै जग्गा पाउन सके पनि जीविका चलाउन अझै पुरानै पेशामै खुम्चिनुप¥यो । बन्दाबन्दीले त्यो पेशाको कमाइ पनि खोसेपछि बिचल्लीमा परेको उहाँको भनाइ छ । थोरै परिवारले छालाको जोहो गरी परम्पारागत पेशालाई जीवित राख्दै आए पनि जुत्ता बनाउने कम्पनी चलेपछि उनीहरुको समेत पेशा पलायन हुने अवस्थामा पुगेका छ ।

“जुत्ता बनाउने तालिम पाइँदैन । बैंकमा गए कर्जा पाइँदैन । न्यून आयस्रोत र जग्गालगायतको सम्पत्ति नभएपछि बैंक मात्रै होइन, गाउँका छिमेकीले समेत कर्जा दिन पत्याउँदैनन् । यस्तो अवस्थामा पुरानै पेशालाई कसरी जीवित राख्न सकिन्छ”, पदम सार्कीले भन्नुभयो, “नयाँ पुस्ताका युवाहरुले जुत्ता बनाउने, सिउने पेशालाई छाडदै गएका छन् ।” सरकारले बिनाब्याज, बिनाधितो कर्जा दिने व्यवस्था गरी पुर्खौँदेखि चल्दै आएको पेशालाई आधुनिक बनाई व्यावसायिकरूपमा अगाडि बढाउनका लागि काम अगाडि बढाउनुपर्ने उनीहरूको माग छ ।

पञ्चायतकालमा जस्तो अवस्था थियो । हाल लोकतान्त्रिक गणतन्त्र आए पनि सार्की समुदायको जीवनस्तरमा परिर्वतन आउन सकेको छैन । “देशमा राजनीतिक परिवर्तन आएपछि विगतको कष्टकर जीवनमा परिवर्तन आउला भनेर सोचेका थियौँ”, सडकपेटीमा जुत्ता सिउँदै आएका पदमले भन्नुभयो, “सम्पत्तिका नाममा पहिला पनि त्यो झोपडी थियो, हाल पनि त्यही छ ।” कञ्चनपुरका कृष्णपुर, झलारी, दैजी, सिसैया र भीमदत्तनगरमा गरी सडकपेटीमा बसेर जुत्ताचप्पल सिउने कार्य गर्दै आएका सार्की समुदायको सङ्ख्या चार दर्जनभन्दा बढी छ । रासस

सम्बन्धित

जुम्लामा संस्थागत आइसोलेसन बनाउन जोड 

४ घन्टा अगाडि सागर परियार

हुम्ला र नुवाकोटमा १५ दिन निषेधाज्ञा थप

४ घन्टा अगाडि रेडियो नेपाल