तपाईँ सुन्दै हुनुहुन्छः

विषम परिस्थितिमा स्थिरता चाहिन्छ

चितवन–  देश विषम परिस्थितिमा रहेको समयमा सरकार परिवर्तन गर्न नहुने यहाँका बुद्धिजीवी तथा व्यवसायीले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकार परिवर्तनको बहस चलिरहेका बेला उनीहरुले स्थिर सरकार र सङ्गठित पार्टीले मात्रै वर्तमान समस्यासँग जुध्न सक्ने बताएका हुन् ।

कोभिड–१९ का कारण देशको अर्थतन्त्र धरासायी बन्ने अवस्थामा पुगेको जनाउँदै उनीहरुले सबै दल एक ठाउँमा उभिएर अहिलेको सङ्कटलाई सामना गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस निकट बृद्धिजीवी प्रा डा सूर्यकान्त घिमिरे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षको जनमत प्राप्त भएको र दुई पार्टी मिल्दा स्थायी सरकार दिन्छौँ भन्ने प्रतिबद्धता जनतालाई दिएकाले अहिले सरकार परिवर्तन गर्न नहुने बताउनुहुन्छ । उहाँले थप्नुभयो, “नेपालका दलहरुले पूरा कार्यकाल सरकार चलाउन सक्दैनन् भन्ने सन्देश दिनु राम्रो हुँदैन, त्यसलाई चिर्नका लागि स्थिर सरकार आवश्यक छ ।” आफ्नो पार्टीको सरकार आफैँले ढाल्ने परम्पराको अन्त्य गर्दै सङ्कटमा एक जुट हुन र प्रधानमन्त्रीलाई सच्चिएर काम गर्न उहाँको सुझाव छ ।

वरिष्ठ अधिवक्ता धर्मराज आचार्य पार्टीको निर्णयानुसार सरकार चल्नुपर्ने सुझाव दिनुहुन्छ । अहिले पार्टी र सरकार दुवै अस्तव्यस्त भएको जनाउँदै उहाँले नेता ओलीले आफूले रोजेको एक पद राखेर समस्याको समाधान खोज्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीको बहुमतको निर्णय प्रधानमन्त्रीले मान्नुपर्छ । पार्टीले अविश्वास प्रस्ताव ल्याउनुपर्ने अवस्था आउन हुन्न, समयमै प्रधानमन्त्रीले यसको निकास दिनुपर्छ । ”

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश–३ का उपाध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम अहिलेको परिस्थितिमा सबै पार्टी एक भएर समस्यासँग जुध्नुपर्नेमा जोड दिनुहुन्छ । कोरोनाले देश आक्रान्त भइरहेका बेला प्रधानमन्त्री परिवर्तनको कुरा बेमौसीमा बाजा भएको उहाँको विचार छ । उहाँले भन्नुभयो, “एउटै पार्टीभित्र आलोपालो गर्ने कुरा अलग्गै कुरा हो तर जुन ढङ्गले कुरा बाहिर आइरहेको छ, त्यसले दूरगामी असर पार्छ ।”

उद्योग परिसङ्घका उपाध्यक्ष एवं उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष कृष्ण अधिकारी राष्ट्रिय सङ्कटको समाधानका लागि प्रधानमन्त्री र दलका अन्य पक्ष सकारात्मक नभएको विचार राख्नुहुन्छ । उहाँले पार्टीसँग स्पष्ट बहुमत भएकाले जो प्रधानमन्त्री भए पनि पार्टीको निर्णयानुसार आउने भएकाले समस्या नहुने बताउनुभयो । यद्यपि स्थिर सरकार जरुरत रहेको उहाँको भनाइ छ । पार्टी फुट्न नहुने जनाउँदै उहाँले अहिलेको सङ्कटसँग जुध्न सरकारले सबैलाई मिलाएर लैजानुपर्छ भन्नुभयो ।

सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामप्रकाश अधिकारी जनताले पाँच वर्षका लागि ओलीलाई प्रधानमन्त्रीका रुपमा निर्वाचित गराएकाले अहिले सरकारको नेतृत्व परिवर्तन गर्न उपयुक्त नहुने बताउनुहुन्छ । कमजोरी भएमा खोजी गर्ने र सचेत गराउन सकिने भए पनि सरकारको नेतृत्व परिवर्तन आवश्यक नभएको उहाँको बुझाइ छ ।

सरकारभन्दा पार्टीको अवस्था दयनीय भएको बताउँदै उहाँले भन्नुभयो, “पार्टी नै चलेको छैन, पार्टी तलदेखि माथिसम्म चलाउने जिम्मा ओलीको मात्रै होइन ।” सरकारले भ्रष्टाचार ग¥यो, अनियमितता भएको देखिन्छ भने तत्काल पार्टीले खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ । पार्टीलाई तल्लो तहसम्म सुदृढ गरेर वडादेखि सङ्घीय सरकारसम्म पार्टीका तर्फबाट सचेत गराउनुपर्ने अधिकारीको सुझाव छ । वाम बुद्धिजीवी प्रेम रिमालको विचारमा नेता ओलीले अर्काे उपयुक्त पात्रलाई प्रधानमन्त्री बनाएर अहिलेको समस्याको निकास दिनुपर्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button