तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गर्ने फर्म विरुद्ध मुद्दा दायर


काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले तीन वटा फर्मका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले राजश्व चुहावटमा संलग्न फर्महरुबाट ४० करोड ६१ लाख रुपैया बिगो असुल गरी बिगोको दोब्बर जरिवाना एवं कैद सजायको माग दाबीसहित उच्च अदालत पाटनमा बुधबार मुद्दा दायर गरेको जनाएको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकरको विजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँ महानगरपालिका–२५ बस्ने न्यूसागर प्लाष्टिक कन्सर्नका प्रोपराइटर सञ्जु किजु तथा मुख्य आरोपी सागर किजुले २६ करोड ८२ लाख रुपैयाँ छली गरेको आरोप छ । यस्तै सुप्रिम प्लाष्टिक कन्सर्नका सञ्चालक सागर किजुले राजश्व चुहावट गरेको अभियोगमा छ करोड ७७ लाख रुपैयाँसमेत गरी जम्मा ३२ करोड ६० लाख रुपैया बिगो असुल एवं कैदको मागदाबी गरिएको छ ।

न्यूसागर प्लाष्टिक कन्सर्नले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजकमात्र खरिद गरी मूल्य अभिवृद्धिकर र आयकरसमेतको राजश्व चुहावटको कसुर गरेको जनाइएको छ ।

यस्तै झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँस्थित बिकोइरस्काइर बङ्गलामुखी जेभीका सञ्चालक साझेदार रोशनकुमार श्रेष्ठसमेतले राजश्व चुहावट गरेको अभियोगमा आठ करोड एक लाख रुपैयाँ बिगो र बिगोको दोब्बर जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button