तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका ३४ जना कोरोना सक्रमित निको भएर घर फर्किए

किरण श्रेष्ठ, तनहुँ । कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएका तनहुँका ३४ जनाले कोरोना जितेर निको भएर घर फर्किएका छन् । शुक्लागण्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वार उपचार केन्द्रको आइसोलेसनमा राखिएका उनिहरुको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

केन्द्रको आइसोलेसनमा बुधबार घिरिङका २ जना निको भएर घर गएका छन् भने मंगलबार शुक्लागण्डकी नगरपालिकाका १ जना र घिरिङ गाउँपालिकाका १५ जना गरी १६ जना संक्रमितहरुको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केन्द्रका फोकल पर्सन प्रदीप पौडेलले जानकारी दिनुभयो ।

यस्तै, संक्रमित मध्य हालसम्म व्यास नगरपालिकाका १ जना, शुक्लागण्डकी नगरपालिकाका ४ जना ऋषिङ गाउँपालिकाका ६ जना, घिरिङ गाउँपालिकाका २२ जना र आँवुखैरेनी गाउँपालिकाका १ गरी ३४ जना संक्रमित निको भएर घर गएको केन्द्रले जनाएको छ ।

केन्द्रको आइसोलेसनमा उनिहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको र जिल्ला आयुर्वेद आषधालयको समन्वयमा रोगप्रतिरोधाक क्षमता वृद्धि गर्ने आयुर्वेद औषधीहरु मात्र खुवाइएको केन्द्रका फोकल पर्सन अधिकारीले बताउनुभयो ।

त्यस्तै, तनहुँमा कोरोना संक्रमितको संख्य वृद्धि हुँदै गईरहेको छ । बिहिबार मात्रै तनहुँको ऋषिङ गाउँपालिका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बन्दिपुर अस्पतालका एक चिकित्सक सहित ५ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र आँवुखैरेनी गाउँपालिकाका १ जना सुरक्षाकर्मी, १ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिपि कोइराला राष्ट्रिय उपचार केन्द्रकी एक ३५ वर्षीय महिला कर्मचारीलाई समेत बुधबार कोरोना संक्रमण पुष्टि भएको र उनलाई केन्द्रकै आइसोलेसनमा राखिएको छ ।

जिल्लाको ७ स्थानमा तयार गरिएको १८९ वेड क्षमताको आइसोलेसन कक्षमा अहिले ९४ जना संक्रमितहरुलाई राखिएको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यस्तै, जिल्लाको १० वटै स्थानीय तहले ४६ स्थानमा तयार गरेको १ हजार १० बेड क्षमताको क्वारेटाइनमा ८७ जना महिला र ८३५ जना गरी ९२२ जनालाई राखिएको छ ।

भारत लगायत अन्य मुलुकबाट आएका नागरिक तथा क्वारेटाइन र आइसोलेसन व्यवस्थापनको अग्रपंक्तिमा खटिएको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा अन्य व्यक्तिहरुको गरी हालसम्म १ हजार ९५६ जनाको थ्रोट स्वाब नमुना संकलन पश्चात पिसिआर परीक्षणका लागि पठाइएकोमा १ हजार ३५८ जनाको रिपोर्ट नेगेटिभ र १२८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ४७५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित

गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय २८ जना पुगेको छ भने ३४ जना निको भएर घर फर्किएका छन् ।

हालसम्म जिल्लाको व्यास नगरपालिकामा १६ जना, ऋषिङ गाउँपालिकामा ३५ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ८ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button