तपाईँ सुन्दै हुनुहुन्छः

यातायात क्षेत्रको समस्या, अव्यवस्थित क्वारेनटाइनलगायतका विषयमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरू रामनारायण विडारी, डा. विमला राई पौडेल, शेरबहादुर कुँवरलगायतले यातायात क्षेत्रको समस्या, अव्यवस्थित क्वारेनटाइनलगायतका विषयमा सरकार संवेदनशील हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसै गरी बैठकको विशेष समयमा बोल्दै सांसद पर्शुराम मेगी गुरुङले देशका हरेक क्षेत्रमा भ्रष्टाचार अत्यन्त बढेको भन्दै भ्रष्टाचार न्यूनीकरण नभएसम्म मुलुकको उन्नति र प्रगति हुन नसकने बताउनुभयो ।

सांसद जितेन्द्र नारायण देवले जातीय विभेदको अन्त्य र गरिबी उन्मुलनका लागि राज्यले आर्थिक प्याकेज ल्याउन जरुरी रहेको र दलित सम्बन्धी बनेका कानुनको प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद सुमनराज प्याकुरेलले क्षेत्र नं २ मा नेकपा एमालेका कार्यकर्तामाथि चरणबद्ध रूपमा आक्रमण हुने गरेको भन्दै राष्ट्रियसभाका सभापतिमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

त्यसै गरी बैठकमा ठगेन्द्र प्रकाश पुरी, प्रमिला कुमारी, उदय शर्मा पौडेल लगायतका सांसदहरुले शैक्षिक क्षेत्रको अस्तव्यस्तताप्रति शिक्षामन्त्रीको मौनतालगायत देशको वर्तमान अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसरी बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत चौविसौं संशोधन विधेयक २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button