तपाईँ सुन्दै हुनुहुन्छः

पर्साका ३८ वटा क्वारेनटाइनमा ८९ जना मात्रै

वीरगन्ज । क्वारेन्टिनका रूपमा प्रयोग गरिएका पर्सा जिल्लाका सरकारी तथा सामुदायिक विद्यालयहरूको विकल्प खोज्नु पर्ने कुरामा अभिभावकहरूले जोड दिएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विद्यालय क्वारेन्टिनमा प्रयोग भइरहँदा बालबालिकाको पढाइमा बाधा पुगेको भन्दै विकल्प खोज्न अभिभावकहरूले माग गरेका हुन ।

लामो समयदेखि पठन पाठन अवरुद्ध हुँदा बालबालिकाको भविष्य अन्योल पूर्ण बन्दै गएको र अब उच्च स्वास्थ्य सतर्कताका साथ विद्यालयहरू सञ्चालन गर्नुको विकल्प नरहेको अभिभावक सङ्घ पर्साका अध्यक्ष अमर गौतमले बताउनुभयो ।

भारत तथा तेस्रो मुलुक लगायत अन्य जिल्लाबाट मानिस आउने क्रम रोकिएसँगै अहिले पर्साका क्वारेनटाइनमा रहनेहरूको सङ्ख्या समेत निकै कम रहेको छ ।

पर्सामा आजको मितिसम्म ३८ वटा क्वारेन्टाईनमा ८९ जना मात्रै रहेको र उनीहरूलाई सुरक्षित स्थलमा सारेर विद्यालय खाली गर्नु पर्ने माग अभिभावकहरूको छ ।

पर्सामा ३८ वटै क्वारेनटाइन विद्यालयमा बनाइएको र विगतमा एक हजार सात सय २० जना भन्दा बढी व्यक्तिहरू क्वारेनटाइनमा रहेको अवस्थाबाट अहिले सो सङ्ख्या घटेर ८९ पुगेको हुँदा न्यून सङ्ख्यालाई अन्यत्रै स्थानान्तरण गर्न सकिने तर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्ने माग अभिभावकहरूको छ ।

लामो समयसम्म कोभिड–१९ का कारण विद्यालय बन्द रही बालबालिकाको पठनपाठनमा बाधा परेको र क्वारेन्टिनमा बस्ने व्यक्तिहरूको सङ्ख्या समेत न्यून रहेको हुँदा विद्यालयबाट क्वारेन्टिन हटाएर पठनपाठन सहज हुने वातावरण मिलाउनुको विकल्प नरहेको पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button