२०७७ साल साउन २२ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

गर्भवती तथा सुत्केरी महिलाका लागि सुरु गरिएको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै

सरिता खनाल २०७७ असार २२ गते १४:०९

काठमाडौँ । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सुरु गरेको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

प्रसव समस्या न्यूनीकरण गरी मातृ शिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको यस कार्यक्रम अन्तर्गत हालसम्म एक सय १० जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

दुर्गम क्षेत्रका महिला जसले लगातार २४ घण्टासम्म प्रसव पिडा भएर पनि बच्चा जन्माउन नसकेको, बच्चा जन्मिसकेपछि पनि सालनाल अड्किएर ज्यान जोखिममा परेको, अत्यधिक रक्तस्राव भएको, बच्चाको टाउको भन्दा अगाडी हात वा खुट्टा बाहिर आएकोजस्ता समस्यालाई जोखिमको रूपमा राखेर राष्ट्रपति महिला तथा उत्थान कार्यक्रममार्फत उद्धार गरिँदै आएको छ ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७५ तयार गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत २०७५ साल पुस महिनादेखि हालसम्म एक सय १० जना महिलाको हेलिकोप्टरबाट उद्धार गरिसकिएको छ ।

सरकारले ३४ वटा हिमाली तथा उच्च पहाडी जिल्लालाई दुर्गम जिल्लाको रूपमा परिभाषित गरी कार्यक्रममा समेटेको छ । ३४ वटा जिल्ला मध्ये ३० वटालाई पूर्ण र चार वटा जिल्लालाई आंशिकका रूपमा राखेर धेरैजसो सडकको पहुँच नपुगेका दुर्गम हिमाली तथा पहाडी जिल्लाहरू यस कार्यक्रममा समेटिएको पनि राष्ट्रपति महिला उत्थान समन्वय इकाईले जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक वर्षमा २६ जना र यस आर्थिक वर्षमा ८४ जना गरी एक सय १० जना महिलाको उद्धार गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख अन्जु ढुङ्गानाले जानकारी दिनुभयो । एक सय १० जनामध्ये २० जना महिलाको लकडाउनकै समयमा उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको खर्चको व्यवस्थापनका लागि सरकारले यस कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको र आगामी आर्थिक वर्षमा पनि पाँच करोड बजेट विनियोजन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले जनाएको छ ।

कुनै पनि गर्भवती तथा सुत्केरी महिलालाई नजिकको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएको अवस्थामा आवश्यकता र मागमा आधारित यस कार्यक्रमले नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्दै आएको छ ।

दलित, विपन्न र पहुँचबाट टाढा रहेका गर्भवती तथा सुत्केरीलाई प्राथमिकता दिई यस कार्यक्रम अन्तर्गत उद्धार गरिएको पनि इकाईले जनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले मातृ शिशु मृत्युदर कम गर्नुका साथै दुर्गम क्षेत्रका नागरिकमा ‘अप्ठ्यारो पर्दा राज्य छ’ भन्ने विश्वास दिलाउन सफल भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख ढुङ्गानाले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिला तथा नवजात शिशुको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन उद्धार सँगसँगै आमा तथा बच्चाका लागि पोसिलो आहार, न्यानो लुगा लगायतका राहत सामग्रीहरू समेत उपलब्ध गराउने गरी कार्यविधिमा संशोधनको तयारी भइरहेको पनि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।